पोखरा विमानस्थलमा तारा एयरका यात्रुको आफन्तको रुवाबासी

पोखरा : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा जहाजमा रहेका यात्रुका आफन्तहरू जम्मा भएका छन्। पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको जहाज बेपत्ता भएसँगै यात्रुका आफन्तहरू पोखरा विमानस्थलमा आउने क्रम बढेको छ। उनीहरू हतास र भाव विह्वल छन्।
मानापाथी हिमालको फेदमा विमान रहेको सूचना आए पनि एकिन हुन सकेको छैन। प्रतिकुल मौसमका कारण उद्धार टोली सम्भावित दुर्घटना स्थलमा पुग्न सकेका छैनन्। उनीहरू उद्धार टोली कुन बेला सम्भावित स्थलमा पुग्ला र वास्तविकता खुल्ला भन्ने प्रतीक्षामा देखिन्छन्।
मुस्ताङको घाँसामा दुर्घटना भएको आशङ्का गरिएको जहाजमा पोखराबाट १६ जना नेपाली र ६ विदेशी पर्यटक सहित जोमसोमका लागि उडेको थियो। पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता जहाज खोज्न पोखराबाट गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको लार्जुङमा पुगेको छ। मौसमका कारण सम्भावित ठाउँमा हेलिकोप्टर ल्यान्ड गर्न नसकिएपछि केही टाढा ल्यान्ड गरेर पदमार्ग मार्फत सेनाले खोजी सुरु गरेको छ।
चालक दलसहित २२ जना सवार जहाज लेते र लार्जुङ क्षेत्रमै दुर्घटना भएको हुन सक्ने शङ्का गरिए पनि पुष्टि भने भएको छैन।
यस अघि प्रतिकुल मौसमका कारण फिस्टेल एयरको हेलिकप्टर फर्किए पछि नेपाली सेनाको हेलिकप्टर खोजी तथा उद्धार कार्यका सम्भावित दुर्घटनास्थित तर्फ गएको थियो। खराब मौसमकै कारण खोजी तथा उद्धारका लागि तयारी अवस्थामा राखिएका हेलिकप्टर उड्न सकेको थिएनन्। यस अघि खोजतलासका लागी उडेको हेलिकप्टर खराब मौसमकै कारण जोमसोम फर्केको थियो।
जेठ १५, २०७९ आइतबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।