खैरो हिरोइनसहित चार जना पक्राउ

कञ्चनपुरः खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो साँझ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १५.९८ ग्राम लागूऔषध खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो।
उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट बस्ने वर्ष २२ का दीपक भट्ट, वर्ष १८ का विवेक चौधरी, वर्ष २५ का किशोर राना र वर्ष ३५ का कालुराम राना छन्।
से५प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४.३९ ग्राम र सुपप्र-०१-००९प ८१८ नम्बरको मोटरसाइकलमा सवार किशोर र कालुरामको साथबाट ११.५९ ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले बताए।
मोटरसाइकलको टुल बक्स र सेतो प्लास्टिकको थैलाभित्र लुकाइछिपाई चारै जनाले खैरो हिरोइन लग्दै गरेको अवस्थामा प्रहरीको टोलीले शङ्का लागि जाँच गर्दा फेला पारेको हो।
चारै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ। चार दिनअघि मात्रै पनि प्रहरीले बेलौरी क्षेत्रबाटै चार जनालाई लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरेको थियो।
जेठ १५, २०७९ आइतबार ०९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।