बेलिबृज निकालिएपछि गाईघाट–दिक्तेल सडकखण्ड ६ महिनाका लागि बन्द

उदयपुरः सगरमाथा लोकमार्गअन्तर्गत गाईघाटदेखि खोटाङको दिक्तेलसम्मको सडकखण्ड ६ महिनाका लागि बन्द गरिएको छ। गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिबृज दुई दिनअघि मात्रै निकालिएपछि उक्त सडकखण्ड ६ महिनाका लागि बन्द भएको हो।
गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका अनुसार गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ स्थित लिच्की राम्चेबीचको सुनकोसी नदीमा गतसाल मङ्सिरमा जडान गरिएको अस्थायी बेलिबृज बिहीबार खोलिएको हो। वर्षायाम सुरु भएसँगै सुनकोसी नदीमा पानीको बहाव बढ्न थालेका कारण नदीको बहावले बेलिबृज भत्काउन सक्ने भएकाले अहिले हटाइएको कार्यालयले जनाएको छ।
विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनोमोहन अधिकारीले सगरमाथा लोकमार्गअन्तर्गत १५८ किलोमिटरको गाईघाट–दिक्तेल सडकखण्डको औपचारिक शिलान्यास गरेका थिए। २७ वर्ष बितिसक्दा पनि उक्त सडकखण्ड निर्माण कार्य सम्पन्न हुन सकेको छैन। साथै २०६७ मा सुनकोसी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ११ वर्ष बितिसक्दा पछि ४० प्रतिशत काम सम्पन्न हुन सकेको छैन।
जेठ १४, २०७९ शनिबार १३:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।