प्रचण्डको गुनासो: ओलीको घोचपेच र शब्दको वाणले चिन्तित भएँ

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको ओलीको घोचपेचले चिन्तित भएको बताएका छन्। शनिबार प्रतिनिधि सभामा बोल्दै प्रचण्डले ओलीको दम्भ नहुने हो भने अरू कार्यकर्तासँग मिलेर काम गर्न सकिने पनि बताए।
‘नेकपा एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा छ, विश्वास छ। अहिले पनि,’ उनले भने, ‘यो प्रवृत्ति, जसमा यति धेरै अहंकार, यति धेरै दम्भ नहुने हो भने अरू सबै नेकपा एमालेका कार्यकर्तासँग मिलेर काम गर्न कठिन हुने देख्दिनँ। अझै उहाँले जसरी घोचपेच गर्नुभयो। जस्ता जस्ता शब्द वाण प्रहार गर्ने कोशिस गर्नुभयो, यसले म निकै चिन्तित भएको छु।’
प्रचण्डले राष्ट्रिय सभादेखि स्थानीय निर्वाचनसम्मको परिणामबाट केही आत्मसात गरेको होला भन्ने आफूले सोचेको भए पनि त्यस्तो नपाएको बताए। ‘अन्यथा मैले त सोच्थेँ, उहाँ हुँदोखाँदाको दुईतिहाइ बहुमतको सरकार। बालुवाटारमा उहाँले त अलि गृहकालीन ढंगले त्यहाँ रहन्छु भनेर तयारी पनि गर्नुभयो। सरकार गयो, बालकोट जानैपर्यो फेरि। आफ्नै सरकार ढलाएर, आफ्नै पार्टी फुटाएर। त्यसो भएपछि त अलिकति रियलाइजेसन होला नि भन्ने लाग्थ्यो’, उनले भने।
प्रचण्डले सातै प्रदेशका सरकार गुमाउँदा पनि ओलीले आफ्ना कमजोरीको समीक्षा नगरेको बताए। यस्तै राष्ट्रिय सभा निर्वाचन र स्थानीय तह निर्वाचनपछि पनि उनले आत्मसमीक्षा नगरेको प्रचण्डले बताए।
'राष्ट्रिय सभाको चुनाव भयो। चुनावमा उहाँले जे देख्नुभयो भोग्नुभयो त्यसबाट पनि केही न केही त आयो होला भन्ने लाग्थ्यो मलाई', उनले भने, 'अहिलेको स्थानीय तहको निर्वाचनपछि त पक्कै पनि उहाँले आत्मसमीक्षा गर्नुहुन्छ र फेरि एकचोटी देशको राजनीतिक स्थायित्वको निम्ति, कम्युनिस्ट आन्दोलनको हितको निम्ति आफू तत्पर रहेको कुरा गर्नुहोला भन्ने लागेको थियो।’
ओलीले संसद्मा बोल्दा झुटो मात्र बोलेको उनले आरोप लगाए। ‘उहाँले तीन घण्टा बोल्नुभयो, तीन घण्टामा वामपन्थी एकताको पक्षमा वातावरण बनाउने कुरा पो गर्नुहुन्छ कि?, कहिँ आत्मालोचना गरेर मैले गल्ती गरेँ भन्नुहुन्छ कि?, अदालतले, गठबन्धनले भनेको कुरामा पुनः समीक्षा गर्नेतिर जानुहुन्छ कि?, भन्ने सोचेको त उहाँ त सुरुदेखि अन्तिमसम्म अरूलाई गाली गर्ने, बदनाम गर्ने र मेरो दृष्टिमा धेरै झुट कुरा बोल्नुभयो। उहाँ आफ्नो अहंकार र दम्भबाट पर जानुभएको छैन् भन्ने देखियो।’
जेठ १४, २०७९ शनिबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।