उत्तर कोरियालाई प्रतिबन्ध लगाउने प्रस्ताव असफल, चीन र रुसले प्रयोग गरे भिटो

एजेन्सीः उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत गरिएको प्रस्ताव असफल भएको छ। सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरिसकेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन्।
चीनका स्थायी प्रतिनिधि झाङ जुनले उत्तर कोरियामा सुरक्षा परिषद्का प्रस्तावहरूलाई व्यापक, पूर्ण र सही रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै सम्बन्धित देशहरूले नाकाबन्दीको कार्यान्वयनमा मात्रै एकतर्फी जोड दिन नहुने चीनको अभिमत व्यक्त गरे।
हालको अवस्थामा प्योङयाङविरुद्ध थप प्रतिबन्धहरूले समस्या समाधानमा मद्दत नगर्ने बरू थप नकारात्मक प्रभाव र टकरावलाई मात्र निम्त्याउने झाङले बताए। कोभिड–१९ को पृष्ठभूमिमा थप प्रतिबन्धहरूले ठूलो मानवीय प्रभाव पार्ने उनले उल्लेख गरे।
संयुक्त राष्ट्रसङ्घको मस्यौदा प्रस्ताव पारित गर्न परिषद्का स्थायी सदस्य रुस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तीमा नौ मत आवश्यक पर्छ र पाँचवटै स्थायी सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने प्रावधान छ।
जेठ १४, २०७९ शनिबार १२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।