पाँच करोड २० लाख बैना लिएर ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौंः सार्वजनिक र व्यक्तिको जग्गा कीर्ते गरी बिक्री गर्न रु पाँच करोड २० लाख बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नपा–८ बस्ने ईश्वर गाइजु रहेका छन्।
उनीहरूलाई महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ।
परिसरका प्रहरी नायब उपरीक्षक राजु केसीका अनुसार खोटाङ बुईपा–३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नपा–१४ बस्ने धनीराम राई समेतको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई पक्राउ गरी प्रहरी परिसर भक्तपुरलाई बुझाएको हो।
पक्राउ परेका अधिकारी र गाइजुले भक्तपुर साविक सुडाल गाविस–४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरका अरूकै नामको जग्गा सम्बन्धित जग्गाधनीसँग अनुमति नलिई अनुमति लिएको छौं भन्दै झुक्याएको र त्यससँगै रहेको कि.नं. ३९९ को ०–४–०–० क्षेत्रफल सरकारी जग्गासमेत बिक्री गर्न करारनामा गरी बैनाबापत रु पाँच करोड २० लाख लिएर ठगी गरेको अभियोग छ।
जेठ १४, २०७९ शनिबार ११:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।