पुल्चोकका उत्कृष्ट विध्यार्थीहरुलाई एक लाख रुपैँयाको एनसेल सम्मान

काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच सङ्कायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ दिएको छ।
एनसेलको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान वितरण गरिएको थियो। २०७१ बाट सुरु गरिएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।
कार्यक्रमअन्तर्गत सिभिल, ईलेक्ट्रिकल, इलेकट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ सङ्कायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान दिने गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
२०७८ का लागि १८ वटा शीर्षक अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, इलेकट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ सङ्कायमा १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति दिइएको छ। योसँगै उत्कृष्ट नतिजा ल्याई यी पाँच सङ्कायबाट स्नातक उत्तीर्ण गरेका ६ विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान दिइएको छ।
इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा.शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरूलाई सम्मान वितरण गरेका थिए।
एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशाल मणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तीय अधिकारी अनुपम भाटले विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति वितरण गरेका थिए।
कोभिड–१९ महामारीका कारणले गर्दा गत वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम आयोजना गर्न नसकिएकाले यसै कार्यक्रममा २०७७ सालका १८ जनालाई प्रदान गरिएको छात्रवृत्ति र ६ जनविद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाण पत्र पनि वितरण गरिएको थियो। हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रहेको छ।
जेठ १३, २०७९ शुक्रबार २३:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।