श्रीमती हत्या अपराधमा कैद छुट पाएका रञ्जन कोइराला पक्राउ परे

काठमाडौँ : सर्वोच्च अदालतबाट जन्मकैदको फैसला उल्टिए लगत्तै फरार रहेका रञ्जन कोइराला पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको हो।
श्रीमती गीता ढकालको हत्या अभियोग पुष्टि भएसँगै जन्मकैद पाएका उनको पुनरावेदनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले कैद छुटको फैसला गरेको थियो। बिहीबार सो फैसला उल्टाउँदै सर्वोच्चले उनलाई पहिल्यै भएको जन्मकैदको सजाय सदर गरेपछि उनी सम्पर्कहीन भएका थिए।
महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले उनी पक्राउ परेको र अदालतमा बुझाउने उकेरालाई जानकारी दिए। प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गत वर्ष असार १५ मा कोइरालाले पाएको जन्मकैदको सजाय घटाएर साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेपछि उनी साउन ८ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
सशस्त्र प्रहरीका तत्कालीन डिआइजी पदमा रहेको बेलामा कोइरालाले २०६८ पुस २७ मा घरमै श्रीमती गीता ढकालको हत्या गरेर प्लास्टिकमा बेरेर मकवानपुरको मेत्राङ पुर्याएर शव जलाएको खुलेको थियो।
जिल्ला अदालत काठमाडौँले उनलाई कर्तव्य ज्यानको कसुरमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। पछि पुनरावेदन अदालतले पनि जिल्लाकै फैसला सदर गर्यो। तर पछि सर्वोच्चले कैद घटाउने फैसला गरेको थियो।
जबरा र केसीको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय गर्दा ‘चर्को पर्न जाने चित्तमा लागेको हुँदा’ भन्दै अदालती बन्दोबस्तको महल १ सय ८८ को प्रयोग गरेर ११ वर्ष ६ महिना सजाय घटाइदिएको थियो। फैसलामा कोइराला जेल बस्दा २३ र २० वर्षका ‘नाबालक छोराहरूको हेरचाह, संरक्षण एवं शिक्षादीक्षाका कार्यहरूमा अनिश्चितता र अन्यौलता हुने’ तर्क गरिएको थियो।
हत्या गरिएकी गीतालाई नै दोषी देखाउने गरी फैसला आएपछि आलोचना बढ्यो। सर्वोच्चमा फैसलाको पुनरावलोकनको निवेदन परेको थियो। निवेदन स्विकारेको अदालतले करिब डेढ वर्षपछि जिल्लाको फैसला सदर गर्दै बिहीबार फैसला गरेपछि प्रहरीले कोइरालाको खोजी सुरु गरेको थियो।
जेठ १३, २०७९ शुक्रबार १८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।