प्रहरीसँग मिलेर हिरा लुट्ने पत्रकार रकम असुलीमा समातिए

काठमाडौँ : हीरा लुटपाटमा पक्राउ परेका सुजन आचार्य सहित सात जना पत्रकार हुँ भन्दै धम्याक्याएर पैसा असुली गरेको आरोपमा पक्राउ परेका छन्। आचार्यलाई चैत १० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरले हीरा लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना प्रहरी सहित पक्राउ गरेको थियो।
जिल्लाको विकट कैलाश गाउँपालिका–५, चौकीटार गोगनेकी धनलक्ष्मी गुरुङको घरमा हीरा खरिद गर्ने बहानामा पुगेका प्रहरी र पत्रकारले लुटपाट गरेको आरोपमा १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर– १२ का २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ का २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ का २८ वर्षीय हिमकान्त पुन मगर पक्राउ परेका थिए।
आचार्य पत्रकार अनि बसेल, बस्नेत र पुन मगर प्रहरी थिए। आचार्य एबिसी टेलिभिजनका पत्रकार रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूको साथबाट ६१.३० क्यारेटको १२.२६० ग्रामको हीरा एक थान, जीइएम आइडेन्टिफिकेसन रिपोर्ट, चाइनिज पेस्तोल एक थान, ७ राउन्ड गोली, सञ्चार सेट चार थान, क्यामेरा एक थान, ल्यापटप एक थान र मोबाइल ६ थान बरामद भएको थियो।
धम्क्याएर रकम मागेको आरोपमा ६ जना पत्रकार र एक विज्ञापन एजेन्सीका पक्राउ
उनीसँगै प्रहरीले शुक्रवार थप पाँच जना पत्रकार र एक जना विज्ञापन एजेन्सीमा काम गर्नेलाई धम्क्याएर रकम असुली गरेको आरोपमा पक्राउ गरेको हो। पक्राउ परेकाहरूको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
विस्तृत विवरण खुलेसँगै हामी पुन अपडेट गर्नेछौँ।
जेठ १३, २०७९ शुक्रबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।