ओलीप्रति बडुको अभिव्यक्तिले संसदमा तनाव

ओलीप्रति बडुको अभिव्यक्तिले संसदमा तनाव

काठमाडौं : उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद् बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि प्रतिनिधिसभाको बैठकमा तनाव भएको छ।

मन्त्री बडुले बिहीबार संसदमा बोलेका एमाले अध्यक्ष ओलीको टिप्पणीलाई अराजनीतिक र स्तरहीन भनेपछि तनाव उत्पन्न भएको हो। 

‘पूर्वप्रधानमन्त्रीले यति हल्का र झुटा कुरा गर्नु आपत्तिजनक छ’, मन्त्री बडुले भने, ’जनताको हितमा गरिने हरेक सत्कार्यमा कमिसन मात्रै देख्ने दुर्नियत देख्दा दया लाग्छ। साउन महिनामा आँखा गुमाएको गोरुले हरियो मात्रै देख्छ भन्थे त्यस्तै भएछ।’ 

मन्त्री बडुले ओलीलाई कमिसन खाएको आरोप पनि लगाए। ‘आफूले कमिसन नै कमिसन खाएर सत्ता गुमाउँदा पनि अझै चेत फिरेको रहेनछ’, उनले भने।

मन्त्री बडुले बोल्दाबोल्दै एमालेका सांसद खगराज अधिकारीले आसनबाट उठेर त्यस भनाइलाई फिर्ता नलिएसम्म विरोध भइरहने बताए। ‘मन्त्रीले जथाभावी बोल्ने अधिकार छैन’, उनले भने, ‘यति गम्भीर आरोप लगाएपछि पुष्टि गर्न सक्नुपर्छ।’

एमालेका प्रमुख सचेतक विशाल भट्टराई मन्त्रीबाट आएको यो अभिव्यक्तिलाई असंसदीय भन्दै त्यसलाई रेकर्डबाट हटाउनुपर्ने पनि माग गरे। आरोप पुष्टि गर्ने हो भने संसदीय छानबिन समिति बनाउन एमालेले चुनौती दिएको छ।

जेठ १३, २०७९ शुक्रबार १२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।