काठमाडौंलाई कान्तिपुरी नगरी नै बनाउने हो: उपमेयर डङ्गोल

काठमाडौंलाई कान्तिपुरी नगरी नै बनाउने हो: उपमेयर डङ्गोल

काठमाडौंः काठमाडौं महानगरपालिकाको नवनिर्वाचित उपमेयर सुनिता डङ्गोलले काठमाडौंलाई कान्तिपुरी नगरी बनाउने बताएकी छिन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले काठमाडौंलाई अरू कुनै शहर जस्तो बनाउनु नपर्ने र देशकै अरू शहरसँग पनि तुलना गर्नुनपर्ने बताइन्। काठमाडौंको मर्म अरूभन्दा विशिष्ट रहेकाले यसलाई सांस्कृतिक नगरी बनाउने अभियानमा हातेमाले गर्नुपर्ने उनको भनाइ छ। 

राजधानी शहर र सांस्कृतिक नगर भएको कुरालाई आत्मसात गर्दै विकास निर्माणका कामहरू अघि बढाउनुपर्ने उनले बताइन्।

उनले भनिन्, 'काठमाडौंलाई अब कुनै पनि शहर जस्तो बनाउन आवश्यक छैन। काठमाडौंलाई कान्तिपुरी नगरी नै बनाउने हो।'

काठमाडौंलाई स्वच्छ, सफा, जीवन्त, व्यवस्थित र सांस्कृतिक नगरी बनाउने अभियान आजबाट औपचारिकरूपमा सुरु भएको पनि उनले बताइन्।

उनले काठमाडौंको विकासको लागि 'थ्री सी'को अवधारणा समेत अघि सारेको बताइन्। 'कोअपरेसन (सहयोग), कोल्याबरेसन (सहकार्य) र कोएग्जिस्टेन्स (सहअस्तित्व) यो सिद्धान्तलाई अपनाएर अघि बढ्न जरुरी छ। मत दिनेहरू र मत नदिनेहरूलाई पनि धन्यवाद। उहाँहरूले अब अझ धेरै विश्वास गर्ने बाटो कोर्नेछु', उनले भनिन्।

डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गर्दै एमालेबाट काठमाडौंको उपमेयरमा निर्वाचित भएकी हुन्। मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मत प्राप्त गर्दै विजयी भए।

बालेनले पनि मुख्य निर्वाचन अधिकृतद्वारा आयोजित बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा काठमाडौं महानगरलाई विश्वकै  सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। 

जेठ १३, २०७९ शुक्रबार ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।