बर्दिबासका स्वतन्त्रबाट निर्वाचित मेयरले सरकारी गाडी प्रयोग नगर्ने, एम्बुलेन्स बनाइने

महोत्तरीः जिल्लाको बर्दिबास नगरपालिकाका नवनिर्वाचित मेयर प्रह्लादकुमार क्षेत्रीले सरकारी गाडीको प्रयोग नगर्ने भएका छन्। बिहीबार पदभार ग्रहण गर्दै उनले नगरप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्समा रूपान्तरण गर्ने बताए।
“यसअघि नगरप्रमुखले प्रयोग गर्दै आएको सरकारी गाडी अब विपन्न, असाहय, बिरामीलाई अस्पताल पुर्याउन प्रयोग गरिने छ”, उनले भने। यस्तै उनले निजी सवारी नै प्रयोग गर्ने पनि जानकारी दिए।
नगरपालिकाका अनुसार सो एम्बुलेन्सको सेवा पाउन बिरामीसँग वडा समितिबाट विपन्न वा असहाय भएको सिफारिस हुनुपर्ने छ।
१४ हजार २१० मतसहित मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार क्षेत्रीले निर्वाचनमा स्वतन्त्र समूह नै बनाएर प्रतिस्पर्धामा ओर्लिएका थिए।क्षेत्रीकै समूहबाट उपमेयरमा तारादेवी महतो र वडा नं १, ७, १३ र १४ मा वडाध्यक्ष समेत निर्वाचित भए। वडा नं १ बाट अध्यक्ष तथा सदस्यसहित पाँचै स्वतन्त्र समूहका निर्वाचित भए।
क्षेत्रीले बर्दिबास अस्पतालको सेवालाई बढाउँदै प्रसूति सेवा प्रभावकारी बनाउने, गर्भवतीको नियमित स्वास्थ्य जाँच गराउने र अस्पतालमा सुत्केरी गराइँदा सरकारले दिँदै आएको यातायात खर्चमा थप रु एक हजार बढाएर उपलब्ध गराउने घोषणा पनि गरेका छन्।
जेठ १३, २०७९ शुक्रबार १०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।