बालेनको घोषणा अस्वीकार गर्दै पूर्व सचिवले आव्हान गरे र्‍याली

बालेनको घोषणा अस्वीकार गर्दै पूर्व सचिवले आव्हान गरे र्‍याली

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयरमा निर्वाचित भएको औपचारिक घोषणा मात्र हुन बाँकी रहेका बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत विजयी र्याली नगर्ने र जो जहाँ छ त्यहीबाट धन्यवाद र्याली गर्न आव्हान गरे पनि पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमार्फत विजय र्यालीकै शैलीमा काठमाडौँमा धन्यवाद र्याली आयोजनाको घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमा सभागृहबाट र्याली निस्किएर भद्रकाली, शहीद गेट त्रिपुरेश्वर,कालीमाटी, कलंकीहुँदै खुल्लामञ्चमा गएर समापन हुने भनेर रुटै सार्वजनिक गरेका छन्। उनले र्यालीको आयोजना परिवर्तनको पक्षमा मतदान गर्ने र समर्थन गर्नेहरूलाई धन्यवाद दिन गरिएको उल्लेख छ।

र्यालीमा बालेन सहभागी हुन्छन् या हुन्नन् त्यो भने खुलाइएको छैन। बुधवार बालेनले आफ्नो फेसबुकमा लेख्दै आफू विजय र्यालीको पक्षमा नभएको र जिम्मेवारी अनुसार सफल भएमा मात्र विजय र्याली गर्ने भन्दै कसैलाई पनि र्यालीमा सहभागी हुन भनेर काठमाडौँमा नआउन र जो जहाँ छ त्यही बरु धन्यवाद र्याली गर्न आग्रह गरेका थिए।

उपाध्यायले निर्वाचनको बेलामा समेत बालेनको पक्षमा र्यालीहरू गर्न सामाजिक सञ्जालबाट आव्हान गर्दै आए पनि बालेनको चुनावी योजनामा संलग्नहरूले उनी योजना निर्माणको समूहका सदस्य नभएको बताएका थिए।

जेठ १२, २०७९ बिहीबार १५:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।