अस्पतालमा आगलागी हुँदा ११ नवजात शिशुको मृत्यु

डकार : पश्चिम अफ्रिकी मुलुक सिनेगलको एक अस्पताल भवनमा आगलागी हुँदा एघार नवजात शिशुको मृत्यु भएको छ। पश्चिम सिनेगलको तिभाओयानीस्थित एक पब्लिक अस्पताल भवनमा आगलागी हुँदा एघार शिशुको घटनास्थलमै मृत्यु भएको हो।
सिनेगलका राष्ट्रपति म्याकि स्यालले बुधबार राती ट्विटरमार्फत सो जानकारी दिएका हुन्। ‘पब्लिक हस्पिटलको शिशु वार्डमा भएको आगलागीको घटनाबाट एघार नवजात शिशुले ज्यान गुमाउनु परेको खबर सुन्दा स्तब्ध बनेको छु। शोकमा डुबेका आमा र उनीहरूको परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्दछु’ ट्विटरमार्फत उनले भनेका छन्।
अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित समाचारअनुसार मामे आब्डाउ अजिज सि डाबाख अस्पतालमा आगलागी भएको थियो । हालै मात्र सञ्चालनमा ल्याइएको सो अस्पतालभित्र विद्युतीय तार सर्ट भई सो आगलागी भएको थियो।
आगलागीबाट जम्मा तीनजना शिशुको मात्र ज्यान जोगाउन सफल भएको स्थानीय मिडियाले जनाएका छन्। विश्व स्वास्थ्य संगठनको जेनेभा सभामा सहभागी भएका सिनेगलका स्वास्थ्य मन्त्री अब्डोलाए डिओफ सार सो घटनाको खबर सुनेपछि तत्काल स्वदेश फिर्ता हुने बताइएको छ।
जेठ १२, २०७९ बिहीबार १४:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।