संसदमा चिप्लिए ओली : '२०५३ सालमा म प्रधानमन्त्री, मतदान अधिकृतले मत खसाल्छन्' 

संसदमा चिप्लिए ओली : '२०५३ सालमा म प्रधानमन्त्री, मतदान अधिकृतले मत खसाल्छन्' 

काठमाडौं : प्रतिनिधि सभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र अरु दलको उछित्तो काढिरहेका छन्। अरुको उछित्तो काढिरहेका ओली कतिपय तथ्यमा आफैं भने चिप्लिए।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धाँधली भएको आरोप उनले लगाए। ‘मतदाताको मत अर्कैले खसाउने स्थिति देखियो। धेरै मत गठबन्धनका प्रतिनिधिले खसाले। निर्वाचन अधिकृतले खसाउनुपर्ने मत कार्यकर्ताले खसाउने?,’ ओलीले संसदमा भने।

स्मरण रहोस्, मतदान अधिकृतले मत खसाउने होइन, मतपत्रमा आधिकारिकताका लागि हस्ताक्षर गर्ने हो। यहाँनेर ओली चिप्लिए। ओलीले मतदान गर्न नसक्ने मतदाताको मत दलका कार्यकर्ताले खसालेको आरोप पनि लगाए।

२०५३ सालमै ओली प्रधानमन्त्री
बुढीगण्डकी जलविद्युत आयोजना आफ्नै लगानीमा बनाउने कुरा सरकारले नीति तथा कार्यक्रममा ल्याएको छ। बुढीगण्डकीको बारेमा ‘गफै त हो सम्धी भन्या जस्तो’ भन्दै ओलीले टिप्पणी सुरु गरे।

ओलीले भने, ‘बुढीगण्डगीको कहानी, बडा हल्ला चलाइयो एक पटक बजारमा केपी ओलीले बुढीगण्डकी चीनलाई दियो भनेर। २०५३ सालमा म प्रधानमन्त्रीबाट हटेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्यो र त्यसले बुढीगण्डकी चीनलाई निर्माण गर्न दिने भन्ने सहमति गर्यो।’

२०५३ सालम केपी शर्मा ओली नेपालको प्रधानमन्त्री थिएनन्। उनी २०७२ साल असोज २४ गते पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए। यहाँ पनि चिप्लिए उनी।

जेठ १२, २०७९ बिहीबार १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।