रेलबारे ओलीको टिप्पणी- सरकारलाई थाहै छैन कि क्या हो !

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले रेल मार्गको विकासबारे विकासमा सरकारलाई नै थाहा नभएको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा छलफलको कार्यक्रममा ओलीले भने, ‘पूर्व-पश्चिम रेलमार्गको काम अघि बढिसकेको छ। अब पूर्वतयारी मात्र होइन, मुआब्जा दिइसकिएको छ। विस्तृत प्रतिवेदन आइसकेको छ। कतिपय ठाउँमा पूर्वाधार बनिसकेको छ। थाहै छैन कि क्या हो सरकारलाई?’
उनले आफ्नो सरकारका पालामा अन्तरदेशीय जलमार्गमार्फत समुद्रसम्म पहुँच स्थापित गर्ने योजना बनाएको बताए। ‘जल यातायात हामीले गर्न खोजेको 'इन ल्याण्ड वाटर वेज' मार्फत गंगा नदी हुँदै 'वे अफ बंगाल'मा हाम्रा जहाजहरु जाने, हामीले ढुवानीको प्रबन्ध गर्ने डबल सस्तो, डबल छिटो, डबल सुरक्षित हुनेछ,’ ओलीले भने।
उनले अगाडि भने, ‘यो नयाँ नदीको बाटोबाट आवागमन यसको सर्भे अध्ययन गरिकन भारतले गंगा नदीसम्म ल्याएको छ। त्यहाँबाट सम्परीको हनुमाननगरमा हाम्रो स्टेसन हुने र त्यहाँबाट त्रिवेणी धामसम्म ल्याउने तय गरेका छौं। यो अन्तेदशीय नदीमार्ग हो। समुद्रमा नेपाली ध्वजाबाहक जहाज चलाउने हाम्रो योजना हो।
एमाले नै पहिलो पार्टी
एमाले अध्यक्ष ओलीले एमाले नै पहिलो पार्टी नै भएको दावी गरेका छन्। ‘उधुमै चर्चा चल्यो। एमाले ध्वस्तै भयो, समाप्तै भयो, बजारमा माहोल खडा गरिएको छ, एमाले समाप्तै भए जसरी,’ ओलीले भने, ‘केही सिटले एमाले पछि परेको छ। लोकप्रिय, पपुलर भोटमा अहिले पनि अरू सबै पार्टीभन्दा एमाले अगाडि छ। एमाले एक नम्बर पार्टी हो।’
जेठ १२, २०७९ बिहीबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।