अझै चार पालिकाको नतिजा आउन बाँकी

अझै चार पालिकाको नतिजा आउन बाँकी

काठमाडौँ : स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै चार पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा, उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ। 

बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले ३० हजार ३९७ मत प्राप्त गरेका छन्। 

यस्तै उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले ५३ हजार ६४२ मत प्राप्त गर्दा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ७५६ मत प्राप्त गरेका छन्।  

उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका बलदेव चौधरी ७४४ मतसहित अग्रस्थानमा छन्। प्रतिद्वन्द्वी कांग्रेसका वसन्तकुमार बस्नेतले ३४४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा माओवादी केन्द्रका गीता खड्का कार्कीले ८१८ मत प्राप्त गरेकी छन् भने प्रतिद्वन्द्वी कांग्रेसका सरिता राईले ३२० मत प्राप्त गरेकी छन्। 

रौतहटको गरुडा नगरपालिकको प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवार तीन हजार ८०७ मतका साथ अगाडि छन्। उनलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले तीन हजार ४१८ मतका साथ पछ्याइरहेका छन्। 

उपप्रमुखमा कांग्रेसका पुनमकुमारी चौधरीले पाँच हजार १४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालका विन्दुकुमारी देवीले तीन हजार १६४ मत प्राप्त गरेकी छन्। 

सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेस १३९ नगरपालिका र १८८ अध्यक्षसहित ३२६ स्थानमा विजयी भएको छ। जारी मतगणनामा कांग्रेस दुई स्थानमा अगाडि छ । एमाले ८१ नगरपालिका र १२३ गाउँपालिकासहित २०४ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी १२१ स्थानीय तहमा विजयी भएको छ । 

जेठ ११, २०७९ बुधबार २०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।