तुलसीपुर उपमहानगरमा एमाले विजयी 

तुलसीपुर उपमहानगरमा एमाले विजयी 

दाङ : तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ। नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका हुन्। खड्का निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६९१ मतान्तरले पछि पार्दै विजयी भए। 

खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले बताए। त्यस्तै उपप्रमुखमा चौधरी निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार ५३२ मत पछि पार्दै विजयी भएका हुन्। चौधरीले ३० हजार ५९७ मत ल्याएका थिए भने रानाले २१ हजार ६५ मत ल्याए। 

तुलसीपुर उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो। तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो। 

२०५४ यता एमालेकै राज 
तुलसीपुरमा २०४९ सालमा कांग्रेसका शङ्करप्रसाद आचार्य प्रमुख निर्वाचित भएका थिए भने कांग्रेसकै प्रदीपबहादुर शाह उपप्रमुख थिए। त्यतिबेलाका फुलबारी, टरिगाउँ, उरहरि, पवननगर, हलवार, विजौरी, डुरुवा र मानपुर गाविस अहिले उपमहानगरपालिकामा गाभिएका छन्। विसं २०४९ मा यी सबै गाविसमा  कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो।

तुलसीपुरलाई समृद्ध बनाउछुः  खड्का 
निर्वाचित भएसँगै राससलाई प्रतिक्रिया दिँदै टीकाराम खड्काले तुलसीपुरलाई समृद्ध बनाउने बताएका छन्। उनले जनताले विश्वास गरेर जित्न सफल भएको भन्दै मन जित्ने गरी काम गर्ने बताए। त्यस्तै नवनिर्वाचित उपप्रमुख स्यानीय चौधरीले पिछडिएका वर्गको उत्थान गर्न आफू तत्पर रहने बताए। 

जेठ ११, २०७९ बुधबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।