विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रको राजीनामा

विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रको राजीनामा

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय निर्वाचनमा निराशाजनक परिणाम आएपछि उनले अध्यक्षबाट राजीनामा दिएका हुन्।

आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, 'अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा राजीनामा दिएको जानकारी गराउँछु।'

मिश्रले अध्यक्षबाट राजीनामा दिए पनि पार्टीको साधारण सदस्य भने रहिरहने बताएका छन्।

'हाम्रा उम्मेदवारहरू 'इमानदार र सक्षम' हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ,' उनले विज्ञप्तिमा भनेका छन्, 'बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।'

उनले गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्ने बताएका छन्।

'तपाईँहरूप्रतिको श्रद्धाभाव शब्दमा व्यक्त गर्न सक्दिनँ। तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पूरा गर्न नसक्दा अत्यन्तै दुखित छु,' मिश्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

'प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्तावेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो,' उनले थप भनेका छन्, 'सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु।' 

सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन उनले आग्रह समेत गरेका छन्।

पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने मिश्रको भनाइ छ।

'मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबीच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्छु,' मिश्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जेठ ११, २०७९ बुधबार १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।