बसको ठक्करबाट प्रहरी र म्यादी प्रहरीको मृत्यु

बसको ठक्करबाट प्रहरी र म्यादी प्रहरीको मृत्यु

काठमाडौं : यात्रुवाहक बसको ठक्करबाट झापामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना प्रहरी र एक जना म्यादी प्रहरी छन्।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश१–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार मृत्यु हुने मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन्।

मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन्। ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जेठ ११, २०७९ बुधबार ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।