१८ वर्षीय युवकले अन्धधुन्ध गोली चलाउँदा अमेरिकामा २१ जनाको मृत्यु

१८ वर्षीय युवकले अन्धधुन्ध गोली चलाउँदा अमेरिकामा २१ जनाको मृत्यु

काठमाडौं : अमेरिकाको टेक्सासमा १८ वर्षीय युवकले अन्धाधुन्ध गोली प्रहार गर्दा २१ जनाको मृत्यु भएको छ।

सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोबको इलिमेन्टरी विद्यालयमा ती युवकले आक्रमण गरेका हुन्।

आक्रमणमा १८ बालबालिका र तीन वयस्क मारिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्। राज्यका सिनेटर रोलान्ड गुटेरेजले स्थानीय प्रहरीले मृत्यु हुनेको संख्या २१ रहेको पुष्टि गरेको बताएका छन्।

टेक्सासका गभर्नरका अनुसार आक्रमणकारी युवकको नाम साल्भाडोर रामोस हो। प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीको मृत्यु भएको समाचारमा जनाइएको छ।

आक्रमणमा परी मृत्यु हुनेमा अधिकांश दोस्रो, तेस्रो र चौंथो कक्षाका बालबालिका रहेका छन्, जसको उमेर ७ देखि १० वर्षसम्म रहेको बताइएको छ।

आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘बालबालिका गुमाउनु भनेको तपाईंको मुटुको टुक्रा गुमाउनु जस्तै हो। यसले तपाईंको छातीमा खालीपन छोड्छ र चिजहरू फेरि कहिल्यै उस्तै हुने छैनन्।’

जेठ ११, २०७९ बुधबार ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।