बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध

मस्को : बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ। रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो।
रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा खरो रुपमा उभिएकाले उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको हो।
गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वभरबाट त्यसको विरोध भइरहेको छ। केही देशको समर्थन र केही देश मौन रहे पनि रुसी आक्रमणका बारेमा अधिकांश देशहरूले विरोध नै जनाएका छन्।
संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायहरूले तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट विवाद समाधान गर्न आग्रह गर्दै आएका छन्।
विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूको आग्रहमा सुरुमा केही चरणमा दुई पक्षका बीचमा वार्ता भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।
पछिल्लो समयका वार्ता र छलफलको क्रम पनि रोकिएको भन्दै विश्वभरबाट चिन्ता व्यक्त भइरहेको छ।
वार्ताबाट समस्याको समाधान खोज्न चौतर्फी दबाब परे पनि रुस र युक्रेन दुवै देशले आआफ्नै अडान कायम राखेकाले वार्ता प्रक्रिया अगाडि बढ्न नसकेको हो।
युद्धका कारण धेरै जनधनको क्षति भएको छ भने अन्तर्राष्ट्रिय बजार र राजनीतिमा समेत नकारात्मक असर परेको छ।
जेठ ११, २०७९ बुधबार ०८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।