सेन्ट लरेन्सका २ शिक्षकविरुद्ध तीन विद्यार्थीको जाहेरी, हिरासतमा राखेर अनुसन्धान शुरु

सेन्ट लरेन्सका २ शिक्षकविरुद्ध तीन विद्यार्थीको जाहेरी, हिरासतमा राखेर अनुसन्धान शुरु

काठमाडौँ : सेन्ट लरेन्स कलेजका २ शिक्षक विरुद्ध तीन जना विद्यार्थीले प्रहरीमा जाहेरी दर्ता गराएका छन्। यौन दुराचार गरेको भन्दै काठमाडौँ चाबहिलको सेन्ट लरेन्स कलेजका जनार्दन अधिकारी र राजनकुमार पौडेल विरुद्ध जाहेरी परेको हो।

उनीहरूले बोलेर र छोएर यौन दुराचार गरेको भन्दै कलेजका तीन विद्यार्थीले प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता गराएपछि प्रहरीले दुवै जनालाई हिरासतमा राखेको छ। उनीहरुविरुद्ध प्रहरीले यौन दुराचार मुद्दामा अनुसन्धान सुरु गरेको छ।

कलेजकी एक छात्रालाई अधिकारीले कलेजको क्यान्टिनमा बोलाएर दुर्व्यवहार गरेसँगै उनले फेसबुक मेसेन्जरमार्फत यौन सम्बन्ध राख्ने प्रस्ताव राखेपछि उनले यसबारे कलेज व्यवस्थापकलाई जानकारी गराएकी थिइन्।

तर व्यवस्थापकले दोषीमाथि कारबाहीको साटो आन्तरिक रूपमै कुरा मिलाउन खोजेपछि उनले साथीहरूलाई भनिन्। साथीहरूले जानकारी पाएपछि कलेजभित्रै आन्दोलन सुरु भएपछि प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको थियो।

विद्यार्थीहरूले कारबाहीको माग गर्दै प्रहरी वृत्त गौशालाबाहिर विरोध प्रदर्शन गरेपछि प्रहरीले व्यवस्थापक र प्रधानाध्यापकलाई समेत नियन्त्रणमा लिएको थियो। पछि अर्का शिक्षक पौडेलविरुद्ध पनि दुराचारको जाहेरी आएपछि उनलाई समेत पक्राउ गरिएको छ।

जाहेरी दिने तीनै विद्यार्थीको उमेर १८ वर्षभन्दा कम रहेकाले प्रहरीले उनीहरूमाथि बाल यौन दुराचारको आरोपमा अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ। पक्राउ परेका अधिकारी पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको कार्यकालमा मिडिया विश्लेषकको रूपमा नियुक्त भएको र उनले विद्यालयकै रिसेप्सनमा काम गर्ने महिला कर्मचारीलाई समेत यौन दुर्व्यवहार गरेको खुलेको छ।

जेठ १०, २०७९ मंगलबार १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।