पोखरामा गठबन्धनका आचार्य र एमालेकी गुरुङ जितनजिक

पोखरामा गठबन्धनका आचार्य र एमालेकी गुरुङ जितनजिक

पोखराः पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्य जितनजिक पुगेका छन्। आचार्यले एमालेका कृष्णबहादुर थापालाई निकै पछि छोडेका छन्।

अब, गणना गर्न बाँकी रहेको भन्दा बढी मत ल्याएर आचार्यले जित लगभग सुनिश्चित गरेका हुन्।

अहिलेसम्म गणना भएको एक लाख ३८ हजार २११ मतमा आचार्यले ५६ हजार ४७१ मत पाएका छन्। एमालेका थापाले ५१ हजार १८५ मत पाएका छन्। आचार्य र थापाबीच पाँच हजार २८६ मतान्तर छ।

अब, पाँच हजार मत गन्न बाँकी छ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ पनि जितनजिक पुगेकी छिन्। उनले कांग्रेसकी कोपिला रानाभाटलाई चार हजार ३५ मतले पछि पारेकी छिन्।

गुरुङले ५८ हजार ५८२ मत पाएकी छन् भने रानाभाटले ५४ हजार ५४७ मत पाएकी छन्।

मेयरमै राप्रपाका शंकर खरालले पाँच हजार ५७९ मत पाएका छन् भने स्वतन्त्र उमेदवार खडकराज (गनेश) पौडेलले दुई हजार ९८६ मत पाएका छन्।

यता, उपमेयरमा राप्रपाकी रञ्जना सेन पौडेल (रञ्जु)ले पाँच हजार ५्८१ मत प्राप्त गरेकी छिन्।

पोखरा महानगरका ३३ वटा वडामध्ये २१ वडा कांग्रेसले जितेको छ। नौ वडामा एमाले विजयी भएको छ। पोखराका वडा नं. २२, ३२ र ३३ को आंशिक मतगणना बाँकी छ।

०७४ को निर्वाचनमा एमालेले पोखराको मेयर उपमेयर सहित २२ वटा वडामा विजयी भएको थियो। कांग्रेसले महानगरका ११ वटा वडा मात्र जितेको थियो। पोखरा महानगरमा दुई लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन्।

जेठ १०, २०७९ मंगलबार ११:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।