
पाण्डे विरुद्ध पहिलो जाहेरीको बयान अदालतमा प्रमाणित, दोस्रो जाहेरी अनुसन्धानमा

काठमाडौँ : सौन्दर्य प्रतियोगिताको सहभागीको बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे विरुद्ध जाहेरी दिने पहिलो पीडितको बयान अदालतमा प्रमाणित गरिएको छ।
बलात्कार आरोप लागे पनि घटना प्रकृति अनुसार मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन समेत आकर्षित हुने र त्यसमा हदम्याद समेत नहुने भएकाले प्रहरीले पाण्डेलाई त्यही आरोपमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो।
अदालतले सोमबारै पीडितको बयान समेत लियो। मानव बेचबिखनको आरोपमा तत्काल पीडितको बयान अदालतमै प्रमाणित गर्ने कानुनी प्रावधान छ। पीडितपछि होस्टायल हुनसक्ने भएकाले यो कानुनी प्रावधान राखिएको हो।
बयान प्रमाणित गरेपछि पीडित थप बयानका लागि अदालतमा उपस्थित नभए पनि वा बयान बदले पनि अदालतले पहिलो बयानलाई नै आधार मानेर मुद्दा प्रक्रिया अगाडि बढाउन सक्छ। कसैलाई करकापमा, नशालु पदार्थ खुवाएर, नियन्त्रणमा लिएर फाइदा लिएर वा नलिई बेश्वाबृत्ती गर्न बाध्य पारेमा मानव बेचविखन सम्बन्धी कानुन आकर्शित हुनसक्छ।
पीडितको भिडियोमा उनले लेमनेड खाएपछि झुम्म बनाएको बताएकी छिन् अनी कोठामा नग्न तस्बिर र भिडियो लिएर ६ महिना यौन शोषण गरेको र आफुसँगै आफ्नो साथीलाई समेत यौन सम्पर्क गर्न लगाएको बताएकी छिन्। यही आधारमा टेकेर प्रहरीले मानव बेचबिखन अनुसार अनुसन्धान अगाडि बढाएको देखिन्छ।
पाण्डे विरुद्ध अर्की एक नाबालिगकाको पनि जाहेरी परेको छ। उनले पाण्डेले आफूलाई यौन शोषण गरेको दाबी गर्दै जाहेरी दिएकी हुन्। उनको जाहेरी अनुसार बालबालिका ऐन आकर्षित हुने भएकाले सोही अनुसार अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले जानकारी गराए।
'थप जाहेरी आउन सक्ने पनि देखिन्छ। अहिले २ वटा जाहेरी परेका छन्' गिरीले उकेरासँग भने' पहिलो जाहेरी अनुसार मानव बेचबिखनमा म्याद लिएर अनुसन्धान अगाडि बढाएका छौँ। परेका सबै जाहेरीमा अनुसन्धान हुन्छ।'
जेठ ९, २०७९ सोमबार १७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।