अन्तर्घात नभएको भए कांग्रेसले ४ सय पालिका जित्ने थियोः प्रवक्ता महत

अन्तर्घात नभएको भए कांग्रेसले ४ सय पालिका जित्ने थियोः प्रवक्ता महत

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीमा अन्तर्घात भएको बताएका छन्। आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीमा अन्तर्घात भएकाले आकलन गरिएको भन्दा कम स्थानीय तह जितेको बताएका हुन्। 

अन्तर्घात नभएको भए करिब ४ सय हाराहारीमा हामीले चुनाव जित्ने थियौं, उनले भने, सम्पूर्ण रिपोर्ट आइसकेपछि पार्टीले समीक्षा गर्नेछ। यसबारेमा सबै सूचना आइसकेपछि व्यापक समीक्षा गर्नेछ। ३२० भन्दा माथीको आँकडा छ जनसंख्याको आधारमा समीक्षा गर्ने हो भने ५० प्रतिशत ठाउँमा एक्ले जितेको छ। 

एमालेले दलीय गठबन्धनसँग चुनाव लड्न ९ दलसँग गठबन्धन गरेको बताए। एमालेले पाँच दलीय गठबन्धनसँग एक्लै चुनाव लडेको सत्यता नभएको उनको भनाइ छ। 

उनले अर्को निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताए। उनले संघ र प्रदेशका निर्वाचनसम्म गठबन्धनलाई कायम राख्ने बताए। यसबारेमा पार्टी र गठबन्धनमा छलफल गर्ने उनले बताए। 

प्रवक्ता महतले गठबन्धका कारण एक पदमा महिला अर्को पदमा पुरुष हुन नसकेको बताएका छन्। उनले स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व कम भएकोमा कसरी सच्याउने भनेर समीक्षा गरिने बताए। युवालाई कसरी नेतृत्व तहमा ल्याउने भन्नेमा कांग्रेस अगाडि रहेको बताए। 

निर्वाचन स्वतन्त्र र निस्पक्ष ढंगले सम्पन्न भएको उनले बताए । कांग्रेसको सरकार भएको बेला भयरहित, स्वतन्त्र र निश्पक्ष निर्वाचन हुने दाबी पनि उनले गरे । 


 

जेठ ९, २०७९ सोमबार १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।