बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ : मन्त्री पौडेल

बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ : मन्त्री पौडेल

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय भएको बताएका छन्। शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा उनले गौतमबुद्धले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताएका हुन्। 

मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए। 

'बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकलाई हार्दिक आग्रह गर्दछु', मन्त्री पौडेलले भने, 'शान्तिका अग्रदूत गौतमबुद्धले सम्पूर्ण मानव जगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गरेको बोधि ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ।' उनले नेपालीले गर्व गर्ने महत्वपूर्ण विषय भनेको गौतमबुद्ध नेपालमा जन्मेको उल्लेख गरे।  

'गौतमबुद्धले मानवकल्याण र शान्तिका लागि ठूलो योगदान दिनुभएका छ', मन्त्री पौडेलले भने, 'उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौँ, उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ।' उनले हजारौँ हजार वर्षसम्म गौतमबुद्धका उपदेश जीवित रहने बताए। 
 

जेठ ९, २०७९ सोमबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।