
२० पालिका भएको सर्लाहीमा एमालेको एउटामा मात्र जित

सर्लाहीः नेकपा एमालेले सर्लाही जिल्लाको २० मध्ये एक पालिकामा मात्र जित हासिल गरेको छ। बरहथवा नगरपालिकामा एमालेकी उम्मेदवार कल्पनाकुमारी कटुवाल विजयी भएकी हुन्।
१२ हजार २७३ मतसहित विजयी भएकी कटुवाल जिल्लाकै एक मात्र महिला मेयर पनि हुन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका देवानन्द महतो ६ हजार ६६६ मत प्राप्त गरी पराजित भए।
नगरपालिकाको उपमेयरमा एमालेकै रामबाबुप्रसाद साह निर्वाचित भए। उनले नौ हजार ९०१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कांग्रेसकी गंगा दाहालले सात हजार ११९ मत प्राप्त गरिन्।
देशकै सबैभन्दा बढी पालिका भएको जिल्ला सर्लाहीमा यसपटक एमालेले आफ्नो विरासत जोगाउन सकेन। यसअघि जितेका हरिवन, लालबन्दी, ईश्वरपुर नगरपालिका यसपटक कांग्रेस र माओवादीका उम्मेदवारले जिते।
सर्लाहीको पूर्वपश्चिम राजमार्गले छुने पालिकाहरूलाई एमालेले आफ्नो 'लालकिल्ला' भन्ने गरे पनि मतदाताले यसपालि रुचाएको देखिएन।
जेठ ९, २०७९ सोमबार १०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।