गौतमबुद्ध विमानस्थलमा जजिरा एयरसँग चरा ठोकियो, विमान नेपालमै रोकियो

गौतमबुद्ध विमानस्थलमा जजिरा एयरसँग चरा ठोकियो, विमान नेपालमै रोकियो
फाइल तस्बिर

बुटवलः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्समा चरा ठोकिएको छ। १२१ जना यात्रु बोकेर आएको जजिरा एयर राति पौने २ बजे विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोकिएको हो।

चरा ठोकिएपछि विमान नेपालमै रोकिएको छ। रनवेमा चरा नदेखिएपछि राति नै फिर्ता जानुपर्ने विमानले अहिलेसम्म उडान गरेको छैन। चरा विमानको इन्जिनमा गएको आशंका गरिएको छ।

काठमाडौंबाट प्राविधिक ल्याएर चेकजाँच गरेपछि विमानले उडान भर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले बताए।

जेठ २ गतेदेखि विमानस्थलमा जजिराले साताको तीन उडान गरिरहेको छ। सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजिराले दैनिक उडानको तयारी समेत गरिरहेको छ।

जेठ ९, २०७९ सोमबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।