
धरान र धनगढीपछि चासोमा काठमाडौँ महानगरको नतिजा : प्रतिस्पर्धीले मतान्तर घटाए पनि सहज छैन बालेनलाई उछिन्न

काठमाडौँ : धरान र धनगढीमा अग्रता लिइरहेका २ स्वतन्त्र उम्मेदवार मेयरमा विजयी भएसँगै सबैको चासो काठमाडौँ महानगरपालिकाको नतिजामा केन्द्रित भएको छ। तर सुस्त मत गणनाका कारण नतिजा आउन अझैँ केही दिन लाग्ने पक्का छ।
धरानमा लौरो चिन्ह लिएका हर्कराज राई मेयरमा विजयी भए। धनगढीमा गोपाल हमाल विजयी भए। यी दुबै उम्मेदवार दोस्रो पटक उम्मेदवार बनेर सफल भएका हुन्। मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह विजयी हुन्छन् या हुन्नन् चासो यसैमा देखिन्छ। महानगरको ३२ वडामध्ये १४ वडाको सबै मत गनिसकिएको छ। नौ वटा वडाको मत गणना भइसकेको छ। आइतबार साँझसम्मको परिणाम हेर्दा महानगरपालिकाको ५९ प्रतिशत मत गन्दा साह प्रतिस्पर्धीभन्दा दोब्बर मतले अग्रस्थानमा छन्।
पाँच बजेसम्म सार्वजनिक भएको परिणाम अनुसार बालेन ४० हजार ३ मतका साथ पहिलो नम्बरमा छन्। उनलाई पच्छ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहको २२ हजार ७ सय ४९ मत छ। तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितको २२ हजार ९५ मत छ।
एक लाख ९१ हजार मतमध्ये एक लाख १२ हजार ४ सय ४२ मत गनिसकिएको छ। गन्न बाँकी मत ७८ हजार ४ सय ५५ रहेको छ। बालेनले अग्रता लिइरहेको मत सङ्ख्या र प्रतिस्पर्धीको मतसंख्या करिब १८ हजारको फरकमा रहेको छ।
प्रतिस्पर्धीले जित्न ७८ हजारमा १८ हजार भर्ताल गरेर थप मत चाहिन्छ। तर मतगणना भइरहेका वडामा कतै त्रिपक्षीय त कतै चौपक्षिय प्रतिस्पर्धा देखिन्छ। भित्री सहर बाहिर त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ भने भित्री सहरमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी समेत प्रतिस्पर्धामा छन्।
बालेनले वडाहरूमा अधिकतम ४६ र न्यूनतम १३ प्रतिशत मत ल्याएका छन्। उनले सबैभन्दा धेरै कोटेश्वरबाट ४६ प्रतिशत मत पाए। न्यूनतम वडा नम्बर १२ बाट उनले १३ प्रतिशत मात्रै मत पाए। गन्न बाँकी ७८ हजार ७ सय ४४ को १३ प्रतिशत मात्र मत पाए पनि बालेनले ५० हजार मत पाउने छन्।
बालेनलाई जित्न सिर्जनाले परिणाम आउन बाँकी वडाहरूबाट ४० प्रतिशत मत पाउनुपर्छ। उनले अहिलेसम्म वडा नम्बर १२ बाट सबैभन्दा धेरै ३० प्रतिशत मत पाएकी छिन्। सिंहले ४० प्रतिशत मत पाएमा उनले बालेनको अग्रता नाघ्दै ५३ हजार मत पुर्याउन सक्नेछिन्।
लगभग स्थापितको हकमा पनि यस्तै देखिन्छ। स्थापितले अहिलेसम्म वडा नम्बर ५ बाट २६ प्रतिशतसम्म मत पाएका छन्। गणना भइरहेको क्षेत्रमा बालेनको मत प्रतिशत वडा नौ मा ४४ प्रतिशत, १० मा ३८ प्रतिशत, ११ मा २७ प्रतिशत, वडा १२ टेकुमा १३ प्रतिशत, २३ मा १६ प्रतिशत, २४ मा १८ प्रतिशत, २५ मा १८ प्रतिशत र लैनचौरमा ३४ प्रतिशत आइरहेको छ।
प्रारम्भिक मत गणनाको तुलनामा अहिले मत गनिरहेको क्षेत्रमा बालेनलाई आउने मत प्रतिशत कम देखिन्छ। तर अहिले जुन प्रतिशतमा उनका प्रतिष्पर्धीहरुले मत पाइरहेका छन् यही रेसियोमा बालेनलाई पराजित गर्न भने कठिन छ।
जेठ ८, २०७९ आइतबार १८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।