बिहे हुने खुसीमा नाचगान गरेर सुतेका बाबु–छोराको हत्या

सिरहा : सिरहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ। घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो।
सन्त कुमारको यही जेठ ११ गते विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर करिब १२ बजे सुतेपछि दुबैको हत्या भएको स्थानीयवासीले बताएका छन्।
उनीहरुका अनुसार राति करिब १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख करिब ३ बजे हत्याको घटना गाउँभरी फैलिसकेको हुनाले करिब २ बजेको आसपासमा सो घटना भएको हुनसक्छ ।
घटनाको जानकारी पाएलगतै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। “घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौंँ”,प्रहरी उनले भने,“हत्या कसले र किन गरेको भन्नेबारेमा केही खुल्न सकेको छैन्, हामीले अनुसन्धान गरिरहेका छौंँ।” प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको जनाएको छ।
जेठ ८, २०७९ आइतबार १६:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।