गृहमन्त्री खाँणसँग अमेरिकी उपमन्त्री जियाको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेकी छन्। आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको हो।
भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा एवं दुई देशबीचको विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएका थियो। गृहमन्त्री खाँणले भूकम्पपछिको पुनः निर्माण र कोभिडविरुद्धको नेपाललगायत विश्वव्यापी लडाइमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गरे।
भेटमा गृहमन्त्री खाँणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उपमन्त्री जियासँग बताए। उनले विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रको योगदानको लागि अमेरिकाले पुर्याएको योगदानको प्रशंसासमेत गरे। मन्त्री खाँणले मानव अधिकार पर्वद्धनमा नेपाललाई अमेरिकाको साथ रहेको उल्लेख गर्दै नेपालले सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिमा सकारात्मक रूपमा अघि बढेको र नेपालको द्वन्द्व समाधानको घरेलु मोडल विश्व समुदायको लागि उदाहरण बनेको बताए।
नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगलाई धन्यवाद व्यक्त गरे। सन १९८९ भन्दा अघि नेपाल आएका तिब्बती शरणार्थीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको र नेपालमा शरणार्थीले स्वास्थ्य, शिक्षा, कोभिडविरुद्धको खोपमा समान पहुँच प्राप्त गरेको गृहमन्त्री खाँणले उपमन्त्री जियालाई जानकारी गराए।
गृहमन्त्री खाँणले उपमन्त्री जियालाई लुम्बिनी भ्रमणको लागि अनुरोध पनि गरे। उपमन्त्री जियाले अनुरोधका लागि धन्यवाद व्यक्त गर्दै आफू लुम्बिनी भ्रमणका लागि उत्सुक रहेको र अर्को पटकको भ्रमणमा लुम्बिनी भ्रमणको कार्यसूचीमा राख्ने बताइन्।
अमेरिकी रहयोग नियोग (एमसीसी) सांसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयलाई अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद व्यक्त गरिन्।
अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी पनि उनले दिइन्। भेटमा नेपालले धार्मिक स्वतन्त्रता तथा मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदान तथा अमेरिकी सरकारको मानव अधिकार र लोकतन्त्रप्रतिको प्रतिबद्धताको सह्राना गर्दै आगामी दिनमा यस क्षेत्रमा दुई देश मिलेर अघि बढ्ने विषयमा पनि छलफल भएको थियो।
जेठ ८, २०७९ आइतबार १४:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।