३९ हजार मत गन्न बाँकी हुँदा पोखराको मेयरमा आचार्यकै अग्रता, उपमेयरमा गुरुङको

३९ हजार मत गन्न बाँकी हुँदा पोखराको मेयरमा आचार्यकै अग्रता, उपमेयरमा गुरुङको

पोखराः पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्। अचार्यले महानगरमा एक लाख चार हजार २१२ मत गणना हुँदा ४१ हजार ७०५ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ३८ हजार ३१० मत पाएका छन्। थापाको भन्दा आचार्यको तीन हजार ३९५ मत बढी छ।

त्यसैगरी राप्रपाका शंकर खरालले चार हजार ६९० मत पाएका छन् भने स्वतन्त्र उमेदवार खडकराज (गनेश) पौडेलले दुई हजार ६४९ मत पाएका छन्।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ४३ हजार ६१६ मत प्राप्त गरेकी छन्। कांग्रेसकी कोपिला रानाभाटले ४१ हजार ९२० मत प्राप्त गरेकी छन्। गुरुङ र रानाभाटबीचको मतान्तर जम्मा एक हजार ६९६ छ।

पोखरा महानगरका ३३ वडामध्ये १, ५, ६, ८, १५, २० र २९ मा एमाले विजयी भएको छ। त्यसैगरी वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३ १४, २३, २४,२५,२६, २७, २८ र ३० मा कांग्रेस विजयी भएको छ।

महानगरमा अहिले वडा नम्वर १०, ११, १४, १६, १७,२९,३० र ३१ को मतगणना चलिरहेको छ। ०७४ को निर्वाचनमा एमालेले पोखराको मेयर उपमेयर सहित २२ वटा वडामा विजयी भएको थियो। कांग्रेसले महानगरका ११ वटा वडा मात्र जितेको थियो।

अहिलेसम्मको परिणाम अनुसार कांग्रेसले १६ वटा वडामा जित हासिल गरेको छ भने एमालेले ७ वटामा विजयी भएको छ।

पोखरा महानगरमा दुई लाख ७ हजार ७ सय १२ मतदाता छन्। निर्वाचनमा महानगरमा एक लाख ४३ हजार २२६ मत खसेको थियो।

जेठ ८, २०७९ आइतबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।