गृहमन्त्री खाँणले र अमेरिकी उपमन्त्री जियाबीच भेटवार्ता: अमेरिकाले नेपाललाई दिने सहयोग बढ्ने

गृहमन्त्री खाँणले र अमेरिकी उपमन्त्री जियाबीच भेटवार्ता: अमेरिकाले नेपाललाई दिने सहयोग बढ्ने

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाबीच भेटघाट भएको छ। आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ। 

भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सवको उपलक्ष्यमा एवम् दुई देशबीचको विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएका थियो। गृहमन्त्री खाँणले भूकम्पछिको पुनः निर्माण र कोभिडविरुद्धको लडाइँमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।

यस्तै खाँणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उपमन्त्री जियासँग बताएका छन्। उनले मानव अधिकार प्रर्वद्धनमा नेपाललाई अमेरिकाको साथ रहेको उल्लेख गर्दै नेपालले सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिमा सकारात्मक रूपमा अघि बढेको र नेपालको द्वन्द्व समाधानको घरेलु मोडल विश्व समुदायको लागि उदाहरण बनेको बताए।

त्यस्तै नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगलाई पनि उनले धन्यवाद व्यक्त गरे।त्यस्तै सन् १९८९ भन्दाअघि नेपाल आएका तिब्बती शरणार्थीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको र नेपालमा शरणार्थीले स्वास्थ्य, शिक्षा, कोभिडविरुद्धको खोपमा समान पहुँच प्राप्त गरेको उनले उपमन्त्री जियालाई जानकारी गराए।

गृहमन्त्री खाँणले उपमन्त्री जियालाई लुम्बिनी भ्रमणको लागि पनि अनुरोध गरे। उपमन्त्री जियाले पनि आफू भ्रमणका लागि उत्सुक रहेको र अर्को पटक लुम्बिनी भ्रमणको कार्यसूची राख्ने बताइन्।

अमेरिकी सहयोग नियोग (एमसीसी) संसद्बाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयलाई अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद व्यक्त गरिन्।

यस्तै अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा पनि बढोत्तरी गरेको जानकारी उनले दिइन्।

जेठ ८, २०७९ आइतबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।