
तनहुँ व्यासको मेयरमा कडा प्रतिस्पर्धा: कांग्रेसका न्यौपाने ३०९ मतले अघि

पोखराः तनहुँको व्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बैकुन्ठ न्यौपानेले मतान्तर बढाएका छन्। एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशी र न्यौपानेबीच मतगणनाको सुरुबाटै तीव्र प्रतिस्पर्धा देखिएको छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर समेत रहेको तनहुँको व्यासमा मतगणनाको सुरुदेखि नै स्वतन्त्र उम्मेदवार जोशीले अग्रता लिएका थिए। तर, शनिबार मध्याह्नदेखि न्यौपानेले झिनो मतले अग्रता लिएका थिए। आइतबार १० बजे सार्वजनिक भएको मतपरिणाममा भने न्यौपानेले तीन सयभन्दा बढी मतले अग्रता लिएका छन्।
न्यौपानेले १० हजार १८५ मत पाएका छन् भने जोशीले नौ हजार ८७६ मत पाएका छन्।
त्यसैगरी उपमेयरमा कांग्रेसकी इन्दीरा दरैले अग्रता लिएकी छिन्।
व्यासको १४ वडामध्ये अहिले १ देखि ९ सम्मका वडाहरूको मतगणना सकिएको छ। जसमध्ये ६ वटा वडामा अध्यक्षसहितको प्यानल कांग्रसले जितेको छ भने तीन वटा वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। नगरमा अहिले १०, ११, १२, १३ र १४ को मतगणना चलिरहेको छ।
तनहुँमा पछिल्लो समय रामचन्द्र पौडेलविरुद्ध आफ्नै पार्टीका नेताहरूले षड्यन्त्र गरेर उनलाई कमजोर बनाउने खेल चलिरहेको छ।
मेयर उम्मेदवार दीपकराज कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन्।
उनले लामो समयदेखि सम्बन्ध बिग्रिएका नेता पौडेललाई कमजोर बनाउने योजना बनाएर कांग्रेसका जिल्लास्तरका नेताहरूसँगको मिलेमतोमा एमालेसँग सहकार्यमा छोरा दीपकराजलाई स्वतन्त्रबाट उम्मेदवार बनाएका हुन्।
तनहुँ कांग्रेसका एकथरी नेताहरूले रामचन्द्रलाई कमजोर बनाउन जोशीलाई भित्रीरूपमा सघाउँदै आएका छन्। व्यासमा मतगणना ६ वडा जित्दा पनि कांग्रेसबाट मेयर उम्मेदवार न्यौपाने झिनो मतले मात्र अगाडि देखिनुले पार्टीका नेता/कार्यकर्ताले वडा अध्यक्षलाइ मत दिएर मेयरमा दीपकराजलाई मत दिएको प्रष्ट हुन्छ।
जेठ ८, २०७९ आइतबार १०:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।