निवर्तमान मेयरलाई हराउँदै धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

निवर्तमान मेयरलाई हराउँदै धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल विजयी
तस्बिर: सामाजिक सञ्जाल

काठमाडौंः धनगढी उपमहानगरपालिकामा गठबन्धन र एमालेका प्रतिस्पर्धीलाई हराउँदै स्वतन्त्र उम्मेदवार गोपाल हमाल मेयर पदमा विजयी भएका छन्। हमालले प्रतिस्पर्धी निवर्तमान मेयर नृपबहादुर वडलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।

हमालले २६ हजार ८६५ मत ल्याउँदा वडले १४ हजार ८१७ मत पाए। एमालेका रणबहादुर चन्द नौ हजार ११५ मतसहित तेस्रो भए।

यसअघिको निर्वाचनमा हमाल उनै वडसँग पराजित भएका थिए। वडले २७ सय मतान्तरले हमाललाई पराजित गरेका थिए।

यता, उपमेयरमा एमालेकी कन्दकला राना निर्वाचित भएकी छिन्। माओवादीकी शान्ति अधिकारीलाई दुई हजार ८०९ मतान्तरले पराजित गर्दै राना निर्वाचित भएकी हुन्।

रानाले  १५ हजार ४७९ मत पाइन्। अधिकारीले १२ हजार ६७० मत मात्रै प्राप्त गरिन्। उपमेयरमा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत ल्याए।

जेठ ८, २०७९ आइतबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।