डोल्पामा एक महिनाका लागि यार्सागुम्बा सङ्कलन खुला गरिने

डोल्पाः यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ। जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा शनिबार बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म सङ्कलन गर्न पाउने निर्णय गरेको हो।
कोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा सङ्कलन गर्न नपाएको भन्दै यसपटक विभिन्न तयारीका साथ करिब एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो। यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्यि निकुञ्ज ऐन र नियामावलीअनुसार फरक–फरक प्रवेश शुल्क लाग्नेछ।
यार्सागुम्बा सङ्कलनकर्ताहरूका लागि सुलिगार्ड, धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ। यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकतानुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिने जनाएको छ।
जेठ ८, २०७९ आइतबार ०७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।