बलात्कारमा हदम्याद बाधा नखुले आरोपीत मनोजमाथि लाग्न सक्छ मानव बेचबिखनको अभियोग

काठमाडौँ : ८ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा सहभागी गराएर यौन शोषण गरेको आरोप लागेका मनोज पाण्डे प्रहरीको दुई दिनको प्रयासमा नियन्त्रणमा आएका छन्।
प्रहरीले शुक्रवारबाट उनको खोजी सुरु गरे पनि उनी सम्पर्कहीन भएर बसेका थिए। शनिवार दिउस उनी स्वयम्भू क्षेत्रमा फेला पारेको महानगरीय प्रहरी अपराध महाशाखाको दाबी छ।
उनलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनलाई कुन कसुर अनुसार मुद्दा प्रक्रिया अगाडि बढाउने भन्ने यकिन भने हुन सकेको देखिएन। पीडितले सार्वजनिक गरेको भिडियोमा उनले होटेलमा झुक्क्याएर नशालु पदार्थ खुवाएर कोठामा लगी बलात्कार गरेको र नग्न तस्बिर र भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै धम्क्याएर पाण्डेको साथीसँग समेत यौन सम्बन्ध राख्न बाध्य पारेको उनको दाबी छ।
सार्वजनिक भएको भिडियोमा गरिएका दाबी अनुसार बलात्कार सम्बन्धी कसुरको कानुन आकर्षित हुने भए पनि घटनाको एक वर्षभित्रमा जाहेरी पर्नुपर्ने कानुनी प्रावधानका कारण यो अभियोग लगाउन जटिलता देखिएको छ।
सर्वोच्चबाट आएका केही फैसलामा बलात्कारको घटनाका अन्य प्रमाण भएको हकमा हदम्यादलाई प्राथमिकता दिएको छैन। यस घटनाको प्रमाणमा युवतीको भिडियो, घटनाको छ महिनापछि युवतीले प्रेमीसहित पाण्डेको कार्यालयमा गएर घटना बताउँदाका साक्षी देखिन्छन्।
युवतिको दाबी अनुसार उनी पाण्डेको संस्थाले आयोजना गरेको प्रतियोगितामा सहभागी भएको, उनले घटना भएको दिन भने अनुसार सो दिन एभरेस्ट होटेलमा कार्यक्रम भएका तस्बिरहरू भएकाले यो समेत प्रमाण हुने देखिन्छ।
युवतीले कार्यक्रमको प्रारम्भमै आफू एक्लै होटेलमा रहेको र पाण्डेले लेमनेड मगाएर खुवाएपछि झुम्म भएपछि होटेलको कोठामा सुत्न गएको, बिच-बिचमा होस् खुल्दा पाण्डेले आफूलाई बलात्कार गरिरहेको र बिहान पूर्ण होस् खुल्दा खाटमा आफूसँगै पाण्डे नग्न अवस्थामा रहेको बताएकी थिइन्।
तर फेसबुकमा रहेको कार्यक्रम सम्बन्धी तस्बिरहरूमा उनी कार्यक्रमको सक्सेस पार्टीमा कार्यक्रमका अन्य सहभागी र प्रतियोगीहरूसँगै रहेको देखिन्छ। यसले घटनाको समयबारे अन्योल भने देखाएको छ।
बलात्कारको सबैभन्दा ठुलो प्रमाण शारीरिक परीक्षण र घटनास्थलको मुचल्काकोक्रममा फेला पर्न सक्ने बलात्कार भएको पुष्टि हुने प्रमाण सङ्कलन सम्भव देखिँदैन।
यी नै कानुनी र प्रमाणको जटिलताका कारण प्रहरी तत्काल कुन कानुनी प्रावधान अनुसार अगाडि बढ्ने भन्ने निष्कर्षमा पुग्न सकेको छैन।
'पीडित हाम्रो सम्पर्कमा आएपछिको अवस्थामा घटनाका आरोपीहरू नभागुन् भन्ने थियो। अहिले हामीले त्यसैमा काम गरेका छौँ,' महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले भने' अब अनुसन्धान कुन आधारमा कसरी गर्ने भन्ने हामी छलफलकै चरणमा छौँ।'
अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीहरूसँगको अनौपचारिक कुराकानीमा अहिले उनीहरूले कानुनका जानकारहरूसँग मुख्य २ विषयमा केन्द्रित भएर परामर्श गरिरहेको देखियो।
पहिलो बलात्कारकै अभियोगमा घटनालाई कसरी हदम्यादमा ल्याउन सकिन्छ ?
घटनाको मिति ८ वर्ष अगाडिलाई नै कायम गर्ने हो भने बलात्कारको अभियोगमा मुद्दा प्रक्रिया अगाडि बढाउन असम्भव देखिएको छ।
घटनापछि पीडितमा परेको मानसिक आघातका कारण लामो समय उनी उपचारमा रहेको र उपचारको सकारात्मक प्रभावपछि बल्ल उनले घटना सार्वजनिक गरेकाले यो अवधिको समयलाई कानुनतः शून्य समय बनाएर उनले घटना सार्वजनिक गरेको मितिबाट गणना सुरु गर्ने।
दोस्रो उनले सार्वजनिक गरेको घटना विवरणको आधारमा आकर्षित हुनसक्ने अन्य कानुन हेर्ने। पहिलो विकल्पमा शून्य समय बनाउने बाहेक अन्य बलियो विकल्प देखिएको छैन। यस पाटोबारे छलफल जारी छ। यसमा अदालतबाट प्रहरीलाई सहयोग अनिवार्य छ।
दोस्रो विकल्पमा घटना विवरण अनुसार मानव बेचबिखन सम्बन्धी कसुरका प्रावधान आकर्षित हुने देखिन्छ।
सो ऐनको दफा १५ मा बेचबिखनलाई ' कुनै फाइदा लिई वा नलिई वेश्यावृत्ति गराउनु, बेश्याबृत्तीमा लगाउने वा शोषण गर्ने उद्देश्यले बेहोस पारी वा नियन्त्रणमा लिई करकापमा पारेर नियन्त्रणमा लिनु' उल्लेख छ।
युवतीको भिडियो बयान अनुसार पाण्डेले उनलाई नशालु पदार्थ खुवाएर कोठामा आराम गर्न पठाएर बलात्कार गरेका थिए। त्यही उनले खिचेको तस्बिर र भिडियो देखाएर सार्वजनिक गर्ने भन्दै धम्क्याएर मन लागेको बेलामा फोन गरेर बोलाएर यौन सम्बन्ध राख्ने र आफ्नै अगाडि आफ्नो साथीलाई समेत यौन सम्बन्ध राख्न लगाएको उल्लेख छ।
नशालु पदार्थ खुवाएर कोठामा पठाएर बलात्कार गरेको र साथीलाई बोलाएर जवर्जस्ती यौन सम्बन्ध राख्न लगाएको बेचबिखनको परिभाषाभित्र पर्ने देखिन्छ। यसमा हदम्याद पनि हुन्न।
तेस्रो शरीर बन्धक सम्बन्धी प्रावधान पनि यसले आकर्षित हुने देखिन्छ।
झुक्यानमा पारेर नशालु वा मादक पदार्थ सेवन गराइ बसेको ठाउँ कब्जा गरी वा नियन्त्रणमा लिए शरीर बन्धक हुने मानेको छ संहिताले। भिडियोमा युवतीले बताएका घटना विवरणमा यी देखिएका छन्।
यसको आधारमा पनि शरीर बन्धक सम्बन्धी कानुन आकर्षित हुन्छ नै। तर यसमा पनि बाधक देखिन्छ हदम्याद। संहितामा 'सम्बन्धित व्यक्ति त्यस्तो कसुरबाट मुक्त भएको मितिले ६ महिना नाघेपछि उजुर लाग्ने छैन' भन्ने उल्लेख छ। युवती शरीर बन्धकबाट मुक्त भएको मिति कहिले मान्ने? भिडियो सार्वजनिक भएको दिन या घटना भएको दिन? यसमा पनि कानुनी जटिलता भने देखिन्छ।
जेठ ७, २०७९ शनिबार २२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।