मुक्तिनाथ पुगेका बलात्कार आरोपीत पाण्डेलाई २४ घण्टा पच्छ्याउँदा स्वयम्भूमा भेटिए

मुक्तिनाथ पुगेका बलात्कार आरोपीत पाण्डेलाई २४ घण्टा पच्छ्याउँदा स्वयम्भूमा भेटिए

काठमाडौँ : एक युवतीले टिकटकमा भिडियो राखेर सौन्दर्य प्रतियोगितामा सहभागी गराएर पार्टीको नाममा एभरेस्ट होटेलमा लगेर बलात्कार गरेको आरोप लगाउँदै भिडियो सार्वजनिक गर्दा मनोज पाण्डे मुक्तिनाथ पुगेका थिए।

भिडियोमा उनले अब्युजर मात्र भनेकी थिइन्। नाम खुलाएकी थिइन्। पछि इन्ट्राग्राममा भिडियो राखेर नाम खुलाइन्। बिहीबार बिहानबाट सामाजिक सञ्जालमा पान्डेको नाम र तस्बिर भाइरल भइसकेको थियो।

उनी बिहीबारै पोखरा आइपुगे। भिडियो सार्वजनिक भए पनि के गर्ने भन्ने प्रहरी निष्कर्षमा पुगिसकेको थिएन। उनलाई निगरानीमा राख्ने मात्र निर्देशन आयो।

बिहीबार पाण्डे हवाई मार्गबाट काठमाडौँ उत्रिएर सिधै आफ्नो वकिल भेट्न गए। ८ वर्ष पुरानो घटना भएको, युवतीले सबै प्रमाण डिलेट गरेको भनेको भन्दै उनीहरू उल्टो युवतीविरुद्ध साइवर क्राइममा उजुरी हाल्ने तयारीमा लागे।

यता सामाजिक सञ्जालमा घटनाको अनुसन्धानका लागि दबाब बढिरहेको थियो। बलात्कारको जाहेरी लिन एक वर्षीय हदम्याद बाधक देखेपछि प्रहरीले बिहीबार केही गरेन।

शुक्रवार एक समूहले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्यो। एक वर्षीय हदम्यादका कारण न्याय नपाउने भए भन्दै युवतीले रुदै नयाँ भिडियो हालिन्। अनि शुक्रवारै प्रहरी उनको सम्पर्कमा पनि पुग्यो।

महानगरीय प्रहरी अपराध महाशाखाका एसपी कृष्ण कोइराला एक मनोपरामर्शदाता प्रहरी सहित उनकै घरमा पुगेको थियो। पहिला युवती र उनको अभिभावक रिसाए।

प्रहरीप्रतिको आक्रोशको कारण हदम्यादबारे उनीहरूले पाएको जानकारी नै थियो। पहिल्यै केही वकिलसँग परामर्श गर्दा पनि उजुरी नै दर्ता हुन्न भनेकाले उनीहरू निराश रहेछन्।

उनीहरूले बलात्कारीलाई समात्न नसक्ने पुलिस के काम भन्दै रिसाए। बिस्तारै मनोमरापर्शदाताले उनीसँग कुरा गर्दै गएपछि खुल्न थालिन्।

घटना पक्का हो हैन, पीडित कानुनी उपचारमा जान तयार हो हैन भन्ने यकिन गर्न पुगेको प्रहरीले आवश्यक प्रारम्भिक जानकारी पाएसँगै आरोपी पाण्डेलाई नियन्त्रणमा लिन खोज्न थाल्यो। तर उनी मोबाइल अफ गरेर लुकिसकेका थिए।

प्रहरी बुद्दनगरमा रहेको उनको डेरा पुग्यो। बहिनी मात्र भेटिइन् डेरामा। केही वर्ष अगाडि नै उनको डिभोर्स भएको खुल्यो। उनी एभरेस्ट होटेलमा समेत बस्ने गरेको जानकारी पाएको प्रहरीले त्यता पनि खोज्यो तर फेला पारेन। हायातमा रहेको शंकामा त्यहाँ पुग्दा नि भेटिएन। शुक्रवार त्यसै बित्यो।

महिला हिंसाविरुद्ध आन्दोलन सुरु भएकाले गृह मन्त्रालय आन्दोलन चर्किनु अगाडि नै एक्सनमा जान चाहन्थ्यो। शुक्रवारकै संसद्मा सभामुख अग्नि सापकोटाले पनि सरकारलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिए। तर पाण्डे फेला परेनन्।

गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले महाशाखाका प्रमुख वशन्तबहादुर कुँवरको नेतृत्वमा समिति गठन गर्दै विज्ञप्ति निकालेर अनुसन्धानमा सघाउन आग्रह गर्यो।

शुक्रवार रातभरको खोजीमा पनि पाण्डे फेला परेनन्। शनिवार बिहानैबाट प्रहरी टोली खोजीमा खटियो। कतै पल शाह झैँ लुकिदिएर हैरान बनाउने हो कि वा भागेर भारत पुग्ने हो कि भन्ने चिन्तामा देखियो प्रहरी।

शनिवार प्रहरीले पाण्डेबारे नयाँ क्लु फेला पार्यो। जसलाई पच्छ्याउँदै जाँदा उनी स्वयम्भुको क्षेत्रमा फेला परे। महाशाखाको टोलीले साढे ३ बजे नियन्त्रणमा लिएर मिनभवनको कार्यालयमा ल्यायो।

पाण्डेलाई तत्काल सोधपुछको लागि नियन्त्रणमा लिएको महाशाखाका एक अधिकारीले बताए। अनुसन्धान कसरी अगाडि बढाउने भन्ने टुङ्गो लागी सकेको छैन। टुङ्गो नलागे पनि पाण्डे केही समय प्रहरी हिरासतमा बस्ने पक्का छ।

जेठ ७, २०७९ शनिबार १९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।