
पोखरामा निवर्तमान मेयर जिसीको वडामा कांग्रेसका उम्मेदवार विजयी

पोखराः पोखरा महानगरपालिका–२८ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण लामिछाने विजयी भएका छन्। उनले एमालेका बैनबहादुर गुरुङलाई १५२ मतान्तरले हराएका हुन्।
लामिछानेले एक हजार ६५८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी गुरुङले एक हजार ५०६ मत पाएका छन्।
वडा नम्बर –२८ निवर्तमान मेयर मानबहादुर जिसीको गृहवडा हो। यसअघिको निर्वाचनमा यहाँबाट जिसीले थुप्रै मत पाएका थिए। उनको पार्टी एमालेले यस वडामा लामो समयदेखि जित हासिल गर्दै आएको थियो। तर, जिसीले पाँच वर्षे कार्यकालमा पोखरामा जनअपेक्षा अनुसारका काम गर्न नसकेकाले आफ्नै वडाको समेत विगतको विरासत गुमेको छ।
उनले पाँच वर्षको कार्यकालमा पोखरा क्षेत्रमा तारिफयोग्य कुनै पनि काम गर्न नसकेका कारण ०७४ को निर्वाचनमा महानगरका ३३ मध्ये २२ वटा वडा जितेको एमालेले अहिले मतपरिणाम सार्वजनिक भएका १९ वडामध्ये जम्मा पाँच वडा मात्र जितेको छ।
त्यस्तै २८ नम्बर वडामा महिला सदस्यमा पनि कांग्रेसकै डाल्डादेवी भुजेल विजयी बनेकी छन्। भुजेलले एक हजार ६५६ मत ल्याउँदा उनकी प्रतिस्पर्धी राधिका पौडेलले एक हजार ४८० मत ल्याएकी छन्।
दलित महिला सदस्यमा पनि कांग्रेसकै इन्द्रकला कामी निर्वाचित भएकी छन्। उनले एक हजार ५६२ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी एमालेकी सरु विश्वकर्माले एक हजार ५१४ मत पाएकी छन।
खुल्ला सदस्यमा कांग्रेस र एमालेले १/१ सदस्य जितेका छन्।
जेठ ७, २०७९ शनिबार १२:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।