डोटीमा बस दुर्घटनाः १८ महिने बालक बेपत्ता, घाइते १२ मध्ये पाँचको अवस्था जटिल

डोटीमा बस दुर्घटनाः १८ महिने बालक बेपत्ता, घाइते १२ मध्ये पाँचको अवस्था जटिल
तस्बिर: सामाजिक सञ्जाल

डोटीः आज बिहान डोटीमा भएको बस दुर्घटनामा परी १२ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल ईलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले बताए।

सोही दुर्घटनमा एक बालक बेपत्ता भएका छन्। अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका  र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नंको रात्रिबस आज बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको थियो। घाइतेको पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिमा रहेका बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ।

बस चालक फरार रहेकाले उनको  खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

जेठ ७, २०७९ शनिबार १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।