
पोखरा महानगर: ८१ हजार ७५४ मत गन्दा आचार्यले ल्याए ३३ हजार, उपमेयरमा गुरुङको अग्रता

पोखराः पोखरा महानगरपालिकामा मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्। गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका अचार्यले महानगरमा ८१ हजार ७५४ मत गणना हुँदा ३३ हजार एक सय मत प्राप्त गरेका छन्।
प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले २९ हजार ६५८ मत पाएका छन्। थापाको भन्दा आचार्यको तीन हजार ४४२ मत बढी छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले तीन हजार ५९५ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खडकराज (गनेश) पौडेलले दुई हजार २७२ मत पाएका छन्।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ३३ हजार ९०५ मत प्राप्त गरेकी छन्। कांग्रेसकी कोपिला रानाभाटले ३३ हजार ५७१ मत प्राप्त गरेकी छन्। गुरुङ र रानाभाट बीचको मतान्तर जम्मा ३३४ रहेको छ।
पोखरा महानगरका ३३ वटा वडामध्ये १, ५, ६, ८ र २० मा एमाले विजयी भएको छ। वडा नम्बर २, ३, ४, ७, ९, १२, १३, १४,२३, २४,२५,२६, २७ र २८ मा कांग्रेस विजयी भएको छ। महानगरमा अहिलेसम्म वडा नम्वर १०, ११, १५, १६, २०, १४ र २९ को मतगणना चलिरहेको छ।
०७४ को निर्वाचनमा एमाले पोखराको मेयर-उपमेयर सहित २२ वटा वडामा विजयी भएको थियो। कांग्रेसले महानगरका ११ वटा वडा मात्र जितेको थियो। अहिले हालसम्मको परिणामअनुसार कांग्रेसले १४ वटा वडामा जित हासिल गरेको छ भने एमाले पाँच वटामा विजयी भएको छ।
पोखरा महानगरमा दुई लाख सात हजार ७१२ मतदाता रहेका छन्। निर्वाचनमा महानगरमा एक लाख ४३ हजार २२६ मत खसेको थियो।
जेठ ७, २०७९ शनिबार १०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।