गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माद्वारा जसपा अध्यक्ष यादवसँग भेटघाट, नागरिकता विधेयकबारे छलफल

गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माद्वारा जसपा अध्यक्ष यादवसँग भेटघाट, नागरिकता विधेयकबारे छलफल

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेका छन्। 

यादव ललितपुर हात्तीबनस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ। भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने, सरकारको नीति तथा कार्यक्रमलगायत सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाँणले जानकारी दिए। ‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारको नीति तथा कार्यक्रम र सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न विधेयकबारे भेटमा छलफल भयो । छलफल सकारात्मक भएको छ,’ गृहमन्त्री खाँणले भने। 

प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ। दलीयm सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा भएको कुराकानी सकारात्मक भएको छ। गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन्। 

बिहीबारमात्रै नागरिकता विधेयक, संसद् सुचारु गर्ने र सरकारले संसद्मा प्रस्तुत गर्न लागेका विभिन्न विधेयकका सम्बन्धमा गृहमन्त्री खाँण र कानुन मन्त्री शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए। सरकारले दलीय सहमतिमा संसद्को जारी अधिवेशनमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी अगाडि बढाएको छ।

जेठ ६, २०७९ शुक्रबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।