चन्द्रागिरिको प्रमुखमा कांग्रेसका गिरी र उपप्रमुखमा एमालेकी श्रेष्ठ विजयी

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरी विजयी भएका छन्।
वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा एमालेका उम्मेदवार उत्तमबहादुर राउतलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार गिरी निर्वाचित भएका हुन्। विजयी गिरीले १५ हजार ४७५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राउतले १४ हजार ६५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले राससलाई जानकारी दिए।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अजय श्रेष्ठले एक हजार २१४ मत प्राप्त गर्नुभएको छ । उक्त नगरपालिकाको प्रमुखमा १७ जनाले उम्मेदवारी दिए। विजयी गिरी यसअघि पनि सोही नगरपालिकाको प्रमुख थिए।
उपप्रमुखमा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित हुन्। विजयी श्रेष्ठले १५ हजार ५६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले चार हजार ४५९ मत प्राप्त गरेका छन्।
उक्त नगरपालिकाको उपप्रमुखमा १० हजारभन्दा बढी मत बदर भएको थियो। कूल १५ वडा रहेको चन्द्रागिरिमा कूल ४७ हजार २६४ मतदाता रहेकामा यो स्थानीय तहको निर्वाचनमा ३६ हजार ७०३ मत खसेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ। चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो ।
जेठ ५, २०७९ बिहीबार २१:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।