नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय

काठमाडौँ : पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धुलाई सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाएको छ। रोड रेजको मुद्दामा उनलाई एक वर्षको जेल सजाय सुनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
तीन दशकभन्दा पुरानो यो मुद्दामा सर्वोच्च अदालतमा पुनरावलोकन याचिका दायर भएको थियो। पीडित परिवारले यस मामिलामा सर्वोच्च अदालतको २०१८ को फैसलाविरुद्ध पुनरावलोकन याचिका दायर गरेका थिए।
सन् १९८८ मा सिद्धुमाथि गुरनाम नामका व्यक्तिलाई कुटपिट गरेको आरोप लगाइएको थियो। कुटपिट गरिएका व्यक्तिको मृत्यु भएको थियो। यस मामिलामा तल्लो अदालतले यसअघि सिद्धुलाई सफाइ दिएको थियो।
सन् १९९९ मा उक्त फैसलाविरुद्ध उच्च अदालतमा अपील गरिएको थियो। पछि, पञ्जाब–हरियाणा उच्च अदालतले सिद्धुलाई तीन वर्षको जेल सजाय सुनाएको थियो। त्यसपछि यो मामिला सर्वोच्च अदालत पुगेको थियो।
यस मामिलामा सर्वोच्च अदालतले बुधबार सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको हो। अब अदालतको आदेशबमोजिम सिद्धूलाई पञ्जाब प्रहरीले हिरासतमा लिनेछ।
जेठ ५, २०७९ बिहीबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।