कर्णाली प्रदेश: ६९६ महिला जनप्रतिनिधि निर्वाचित, अधिकांश सदस्यमै सीमित 

कर्णाली प्रदेश: ६९६ महिला जनप्रतिनिधि निर्वाचित, अधिकांश सदस्यमै सीमित 

काठमाडौः वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार बुधबार मध्यान्नसम्ममा ४६० पालिकाको परिणाम सार्वजनिक भइसकेको छ। 

यस पटकको चुनावमा ७५३ स्थानीय तहका लागि देशभर ५५ हजार ६९८ जना महिलाले उम्मेदवारी दिएका थिए। प्रमुख/उपप्रमुखमध्ये एक पदमा महिला हुनैपर्ने नियम भएकाले दलहरूले प्रमुखको उम्मेदवारमा पुरुषलाई प्राथमिकता दिए। धेरैजसो महिला उपप्रमुखमै सीमित भए।

यस पटकको निर्वाचनमा पालिकाहरूको वडातहमा पनि महिला सदस्य र दलित महिला सदस्यमा मात्र महिलाहरूको सहभागिता देखिएको छ। प्रमुख पदहरूमा महिलाको उम्मेदवारी नै न्यून हुँदा निर्वाचित हुने सङ्ख्या झन् कम देखिएको छ। 

कर्णाली प्रदेशमा यस पटकको स्थानीय निर्वाचनमा बुधबार मध्यान्नसम्म ६९६ जना महिला मात्र जनप्रतिनिधिमा निर्वाचित भएका छन्। त्यसमध्ये अधिकांश सदस्यमा मात्र छन्।

प्रदेशको कुन जिल्लामा कति महिला निर्वाचित भए?
हुम्ला 

हुम्लामा हालसम्म उपप्रमुख पदमा समेत कोही महिला निर्वाचित भएका छैनन्। नाम्खा गाउँपालिकामा दुई जना वडा सदस्यसहित महिला वडा सदस्यमा मात्र महिला निर्वाचित भएका छन्। नाम्खामा त दलित महिला सदस्यहरू पनि छैनन्। 

खार्पुनाथ गाउँपालिकाको वडा नं ४ मा एक जना महिला वडा अध्यक्षमा निर्विरोध निर्वाचित भइन्। अरू वडामा वडा सदस्य र निर्धारित महिला सदस्य र दलित महिला सदस्य मात्र निर्वाचित भए। 

ताँजाकोट गाउँपालिकामा कुनै पनि प्रमुख पदमा महिला निर्वाचित भएनन्। 

सिमकोट गाउँपालिका, सर्केगाड गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिकाको भने परिणाम आउन बाँकी नै छ। 

जिल्लामा हालसम्म ३० जना महिला निर्वाचित भएका छन्। तिनमा अधिकांश महिला सदस्य मात्र छन्। 

मुगु 
वडा महिला सदस्य र दलित महिला सदस्यबाहेक मुगुको कार्मारोंग गाउँपालिका उपाध्यक्ष पदमा एक जना महिला मात्र निर्वाचित भइन्। 

छायानाथ रारा नगरपालिकामा उपप्रमुख, दुई जना वडा सदस्य र वडा नं ११ मा अध्यक्षसहित वडा महिला सदस्य र दलित महिला सदस्य निर्वाचित भए। 

सोरु गाउँपालिका, खत्याड गाउँपालिकाको भने मतपरिणाम आएको छैन। यस जिल्लाबाट हालसम्म ३२ जना मात्र महिला चुनिए।

जुम्ला 
वडा महिला सदस्यबाहेक पातारासी गाउँपालिका उपाध्यक्ष पदमा एक महिला निर्वाचित भइन्। दलित महिला सदस्य पनि निर्वाचित भएका छैनन्। 

त्यस्तै कनकासुन्दरी गाउँपालिका, सिंजा गाउँपालिका र हिमा गाउँपालिकामा पनि उपाध्यक्षसहित एक जना वडा सदस्य, वडा महिला सदस्य र दलित महिला सदस्य मात्र निर्वाचित भए। 

तातोपानी गाउँपालिकामा भने उपाध्यक्ष, दुई जना वडा सदस्य, वडा महिला सदस्य र दलित महिला सदस्य निर्वाचित भएका छन्। चन्दननाथ नगरपालिकामा पनि निर्धारित पद बाहेक उपप्रमुख निर्वाचित भए। 

तिला गाउँपालिका र गुठिचौर गाउँपालिकामा भने मतपरिणाम सार्वजनिक भइसकेको छैन। हालसम्म जिल्लामा १४१ महिला निर्वाचित भए।

डोल्पा
शे-फोक्सुन्डो गाउँपालिका र यसका ९ वटा वडामा महिला सदस्य बाहेक अन्य दुई जना महिला निर्वाचित भए। त्यो पनि सदस्यमा मात्र। 

यस पालिकामा दलित महिला सदस्य पनि छैनन्। जगदुल्ला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका र ठूली भेरी नगरपालिकामा उपप्रमुख/उपाध्यक्षमा बाहेक दुई जना वडा सदस्य, वडा महिला सदस्यसँगै दलित महिला सदस्य मात्र निर्वाचित छन्। 

मुड्केचुला गाउँपालिकामा भने सो निर्धारित कोटासँगै उपाध्यक्ष र अन्य ५ वडा सदस्य निर्वाचित भए।

काईके गाउँपालिकामा पूरै गाउँपालिका नै निर्विरोध विजयी भएको हो। जसमा ७ वटा वडामा महिला सदस्य बाहेक एक जना खुला वडा सदस्य महिला निर्वाचित छन् भने वडा नं २, ३ मा दलित महिला पनि छैनन्। 

छार्का ताङसोङ गाउँपालिकामामा पनि महिला वडा सदस्य मात्र छन्। यस गाउँपालिकामा पनि सबै जना निर्विरोध विजयी भएका थिए। 

महिला वडा सदस्य बाहेक दलित महिला सदस्य पनि यस गाउँपालिकाले पाउन सकेन। डोल्पो बुद्ध गाउँपालिकामा पनि वडा महिला सदस्य बाहेक अन्यमा महिला सहभागिता देखिएन। 

यहाँ हालसम्म १२५ जना भन्दा बढी महिला प्रतिनिधि निर्वाचित हुन सकेका छैनन्।

रुकुम पश्चिम
सानीभेरी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा उपाध्यक्ष र निर्धारित कोटामा महिला निर्वाचित भए। मुसिकोट नगरपालिका पुरुषमय भयो। 

नगरपालिकामा रहेको १४ वटा वडामा कोटाबाहेक एउटा वडामा महिला निर्वाचित छन् त्यो पनि सदस्य। 

त्यस्तै त्रिवेणी गाउँपालिकामा उपाध्यक्षसहित एक जना वडा सदस्य र निर्धारित कोटा, चौरजहारी नगरपालिकामा तीन जना वडा सदस्य र निर्धारित कोटामा मात्र महिला निर्वाचित भए। 

आठबिसकोट नगरपालिकामा प्रमुख र उपप्रमुखको मतगणना जारी छ। यसको १४ वटा वडामा निर्धारित कोटा बाहेक एक जना वडा महिला सदस्य मात्र निर्वाचित भएका छन्। 

जिल्लाबाट हालसम्म १२७ जना महिला निर्वाचित भएका छन्।

सल्यान
कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा निर्धारित कोटामा बाहेक उपाध्यक्षमा महिला निर्वाचित भए। कपुरकोट गाउँपालिका भने निर्धारित बाहेक अन्यमा महिला निर्वाचित भएका छैनन्। 

दार्मा गाउँपालिका र शारदा नगरपालिकाले उपप्रमुख/उपाध्यक्षसँगै एउटा वडामा महिला वडा अध्यक्ष पनि पाए। 

सो नगरपालिकामा निर्धारित कोटाबाहेक थप एक जना महिला मात्र वडा सदस्य भए। त्यस्तै सिद्ध कुमाख गाउँपालिकाले निर्धारितबाहेक जम्मा एक जना मात्र वडा सदस्य प्राप्त गर्यो । 

बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिकाको भने मतपरिणाम सार्वजनिक भइसकेको छैन। सल्यानबाट हालसम्म १२८ जना मात्र महिला निर्वाचित भए। 

सुर्खेत
पञ्चपुरी नगरपालिका, लेकवेंसी नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा निर्धारितसँगै उपप्रमुख/उपाध्यक्षमा मात्र महिला निर्वाचित भए। 

त्यस्तै गुर्भाकोट नगरपालिकामा उपप्रमुखसँगै चार जना वडा सदस्य, वडा महिला सदस्य र दलित महिला सदस्य निर्वाचित भए। 

चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, भेरीगङ्गा नगरपालिकाको भने मतगणना जारी छ। 

सुर्खेतबाट ११२ जना महिला निर्वाचित भए। 

दैलेख 
ठाँटीकाँध गाउँपालिकामा निर्धारित कोटामा मात्र महिला निर्वाचित भए। चामुण्ड विन्द्रासैनी नगरपालिका, महावु गाउँपालिका, डुंगेश्वर गाउँपालिका, गुराँस गाउँपालिका र भगवतीमाई गाउँपालिकामा पनि कोटाबाहेक उपप्रमुख/उपाध्यक्षमा मात्र महिला निर्वाचित छन्। 

नारायण नगरपालिकामा उपाध्यक्षसहित एक जना वडा सदस्य र निर्धारित कोटामा मात्रै महिला निर्वाचित भए। नौमुले गाउँपालिकामा पनि कुनै प्रमुख पदमा महिला निर्वाचित भएनन्। एक जना वडा सदस्य र निर्धारित कोटामै सो वडाले चित्त बुझाउनु पर्यो। 

तर, जिल्लाको भैरवी गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिलाले बाजी मर्न सफल भए। अध्यक्ष रीताकुमारी शाही र उपाध्यक्ष देवी भण्डारी दुवै कांग्रेसबाट निर्वाचित भए। 

यसबाहेक गाउँपालिकाको वडामा भने निर्धारित कोटामा मात्र महिला छन्। एक जना वडा सदस्यमा पनि महिला निर्वाचित भएकी छिन्। 

आठबीस नगरपालिका, दुल्लु नगरपालिकाको भने मतगणना जारी नै छ। जिल्लाबाट जम्मा १४७ महिला मात्र निर्वाचित भएका छन्। 

जाजरकोट
जिल्लाको नलगाड नगरपालिकामा उपप्रमुखसँगै वडा नं १० मा महिला अध्यक्ष निर्वाचित भइन्। बाँकी वडामा महिलाकै लागि छुट्टयाइएको कोटामा मात्र महिला निर्वाचित भए।

भेरी नगरपालिका र शिवालय गाउँपालिकामा उपप्रमुख/उपाध्यक्षपछि वडामा निर्धारित कोटामा मात्र महिला सीमित भए।

जुनीचाँदी गाउँपालिकामा ११ वटा वडा रहेकोमा वडा नं ६ मा मात्र अध्यक्ष महिला निर्वाचित भइन्। त्यस बाहेक पूरै गाउँपालिका र वडामा निर्धारण गरिएको कोटाबाहेक अन्यमा महिला सहभागिता छैन। 

छेडगाड नगरपालिकामा निर्धारित कोटाबाहेक १३ वटा वडामा जम्मा एक जना मात्र महिला सदस्य निर्वाचित भइन्। 

कुसे गाउँपालिकामा निर्धारित कोटाबाहेक अन्यमा महिला नै छैनन्। बारेकोट गाउँपालिका चाहिँ मतगणना जारी छ। 

जिल्लाबाट जम्मा ११६ जना महिला निर्वाचित भए। 

कालिकोट
पताला गाउँपालिका, नरहरिनाथ गाउँपालिका र तिलागुफा नगरपालिकाका वडामा सदस्य कोटामा बाहेक महिलाको उपस्थिति छैन। 

शुभकालिका गाउँपालिकामा निर्धारित कोटाबाहेक उपाध्यक्षमा महिला निर्वाचित भएका छिन्। 

खाँडाचक्र नगरपालिकामा पनि कोटाबाहेक एक जना सदस्य मात्र थप भएका छन्। जिल्लाको पचालझरना गाउँपालिका, महावै गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिकाको भने मतपरिणाम सार्वजनिक भएको छैन। 

जिल्लाबाट केवल ८९ जना मात्र महिला प्रतिनिधि छन्। 

जेठ ५, २०७९ बिहीबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।