९ मतपत्र हराएपछि एमालेका कार्यकर्ता गरे पूर्व–पश्चिम राजमार्ग बन्द

९ मतपत्र हराएपछि एमालेका कार्यकर्ता गरे पूर्व–पश्चिम राजमार्ग बन्द

सर्लाही । मतपेटिकाबाट ९ वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नौ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन्। आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रबाट एक हजार चार सय २७ मत खसेको मुचुल्कामा उल्लेख छ। तर, अहिले मतगणको क्रममा मतपेटिका खोल्दा एक हजार चार सय १८ वटा मतपत्र मात्रै भेटिएको थियो।

नौ वटा मतपत्र हराएको भन्दै एमालेका कार्यकर्ताहरुले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन्। उनीहरूले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन्। 

लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएको भन्दा नौ मत कम देखिएको स्वीकार गरे। उनले यसबारेमा निर्वाचन आयोगमा पत्र लेखेर पठाउने तयारी गरिरहेको बताए।

नौ मत कम भेटिँदासमेत निर्वाचन अधिकृतको कार्यालयले गएराती मध्यरातमै मतगणना सकेर वडाध्यक्षसहित वडा सदस्यहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ। उक्त वडाको वडाध्यक्षमा माओवादीका उम्मेदवार १६ मतले विजयी भएका छन्।
 

जेठ ३, २०७९ मंगलबार १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।