पोखरा महानगरमा गठबन्धन एक ढिक्का देखिदा भरतपुरमा छरपस्ट, तीन गठबन्धनका पार्टीले उम्मेदवार जोगाउँदा रेनुलाई सकस

काठमाडौँ : पाँच दलीय गठबन्धनका २ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले भरतपुर महानगरपालिका र पोखराको नेतृत्वलाई प्रतिष्ठाको विषय बनाए। दुवै महानगरपालिकामा आफ्नो स्थिति राम्रो रहेको भन्दै नेपाली कांग्रेसका स्थानीय नेताहरूले अन्तिमसम्मै आफ्नै पार्टकी भागमा पार्न जोड बल गरे पनि सफल भएनन्।
पोखराको नेतृत्व पाएको एकीकृत समाजवादीको अवस्था नाजुक हुने धेरैको अनुमान विपरीत त्यहाँ गठबन्धनका उम्मेदवारहरूले नै लिड गरिरहेका छन्। तर भरपुर महानगरपालिकामा भने उतारचढाव जारी छ। भरतपुरमा कांग्रेसबाट विद्रोह गरेर भुइँकटर चुनाव चिन्ह लिएका जगन्नाथ पौडेलले गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई अप्ठ्यारो पारिरहेका छन्। तै पनि एमालेको उम्मेदवारले अग्रता भने लिन सकेका छैनन्।
रेनु दाहाल नै अगाडि छिन् तर झिनो मतले। भरतपुरको १, २, ३ र ४ वडाको मत गणना सकियो। अहिले वडा नम्बर ५ को गणना भइरहेको छ। हालसम्म १९ हजार १ सय ८३ मत गन्दा रेनुले एक सय ६७ मतले अग्रता लिइरहेकी छिन्।
उनको ६४३९ मत आउँदा एमालेका विजय सुवेदीको ६२७२ मत आएको छ। पौडेलले ३१४९ मत ल्याएका छन्। उपमेयर पाएको कांग्रेस २ हजार ६ सय ९७ मतले अगाडि छ। चित्रसेन अधिकारीले ७८४९ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५१५२ मत ल्याएकी छिन्।
नतिजा सार्वजनिक भएको वडा १ मा कांग्रेसका केशव महर्जनले १३९७ मत ल्याएर निर्वाचित भए। २ मा कांग्रेसकै मनोज रानाभाट २०९९ मतले विजयी भए। ३ मा एमालेका विकास थापा १६६६ मतले विजयी भए भने ४ मा कांग्रेसका अर्पण पोखरेल विजयी भए।
उता पोखरामा भने गठबन्धनबाट मेयर उम्मेदवार बनेका एकीकृत समाजवादीका धनराज आचार्य ५८४५ मताका साग अग्रस्थानमा छन्। एमालेका कृष्णबहादुर थापाले ४८३४ मत ल्याएका छन्। उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट ६२१६ मतले अग्रस्थानमा छिन् भने एमालेकी मञ्जु देवी गुरुङ ५५४० मतले पच्छ्याइरहेकी छिन्।
उता जनता समाजवादी पार्टीले नेतृत्व पाएको वीरगन्ज महानगरपालिकामा पनि गठबन्धनका उम्मेदवार राजेशमान सिंह एमालेका विजयकुमार सराबगीभन्दा अगाडि नै छन्। उपमेयरमा पनि गठबन्धन इम्तियाज आलम अगाडि छन्।
कांग्रेसले नेतृत्व पाएकोमध्ये ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनले लिड गरिरहेका छन्। काठमाडौँ महानगरपालिकामा गठबन्धनकी उम्मेदवार सिर्जना सिंह तेस्रो नम्बरमा छिन्। विराटनगरमा पनि कांग्रेसका नागेश कोइराला तीन हजार मतले अगाडि नै छन्। उपमेयरमा भने एमालेकी शिल्पा कार्की अगाडि छिन्।
जेठ ३, २०७९ मंगलबार १५:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।