२७८ स्थानीय तहको मत परिणाम सार्वजनिक, कुन दलले कति स्थानमा जिते?

२७८ स्थानीय तहको मत परिणाम सार्वजनिक, कुन दलले कति स्थानमा जिते?

काठमाडौँ : गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। अहिलेसम्म देशभरबाट २७८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। दिउँसो २ बजे निर्वाचन आयोगले दिएको आधिकारिक जानकारी अनुसार कांग्रेसले १२७ स्थानीय तहको प्रमुखमा जित निकालेको छ। १७३ स्थानीय तहमा उपप्रमुखमा जित हासिल गरेको छ। कांग्रेसले १६१ स्थानीय तहको प्रमुख र १४६ उपप्रमुखमा अग्रता लिइरहेको छ। 

अघिल्लो स्थानीय तहको निर्वाचनमा देशभर पहिलो भएको एमाले यसपाली भने दोस्रो स्थानमा खुम्चिने देखिएको छ। प्रारम्भिक चरणमा अग्रता लिएपनि पछिल्लो मत परिणाम अनुसार उसले देशभर ७७ स्थानीय तहको प्रमुखमा जितेको छ। एमालेले १२३ स्थानीय तहको उपप्रमुखमा जितेको आयोगले जनाएको छ। देशभर १०५ स्थानीय तहको प्रमुख र ७९ उपप्रमुखमा एमाले अगाडी रहेको छ। 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नराम्रोसँग हार ब्यहोरेको माओवादीले यसपाली सुधार गरेको देखिन्छ। यो समाचार तयार पार्दासम्म माओवादीले ५९ स्थानीय तहको प्रमुखमा जितेको छ। मओवादीले ५९ नै स्थानमा उपप्रमुखमा जित हासिल गरेको छ। माओवादीले ५२ स्थानीय तहमा प्रमुखमा र ५६ उपप्रमुखमा अग्रता कायम राखेको आयोगले जनाएको छ। 

एमालेबाट फुटेर नयाँ पार्टी बनेको एकीकृत समाजवादीले ४ स्थानीय तहको प्रमुखमा जितेको छ। समाजवादीले ८ स्थानमा उपप्रमुखमा जित निकालेको छ। समाजवादीले स्थानीय तहको प्रमुखमा १५ र उपप्रमुखमा २२ स्थानमा अग्रता कायम गरेको छ।  

५ स्थानमा स्वतन्त्र उम्मेदवारले प्रमुख र ६ स्थानीय तहमा उपप्रमुखमा जित हासिल गरेका छन्। स्वतन्त्र उम्मेदवारले १० स्थानीय तहको प्रमुखमा अग्रता लिइरहेका छन्। अन्य पार्टीहरुले ९ स्थानीय तहको प्रमुखमा जितेको छ भने ६१ स्थानमा अगाडी रहेका छन्।
 

जेठ ३, २०७९ मंगलबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।