ललितपुरको रोचक मतपरिणाम: उम्मेदवार नै नभएको उपमेयरको रुख चिह्नमा २१ सय मत

काठमाडौंः ललितपुर महानगरपालिकाको मतगणना रोचक भएको छ। ललितपुरमा पाँच दलीय गठबन्धन चुनावी तालमेल गरेर निर्वाचनमा होमिएका थिए।
मेयर पद कांग्रेसले पाउँदा उपमेयर पद माओवादीले पाएको थियो। जसअनुसार मेयरमा रुख चिह्नमा मतदान गरिए पनि उपमेयर पदमा गोलाकारभित्रको हँसिया हथौडामा मतदान हुनुपर्ने थियो।
तर मेयर पदमा रुख चिह्नमा मतदान हुँदा उपमेयर पदमा पनि उम्मेदवार नै नभएको रुख चिह्नमै मतदान भएको छ। हालसम्म महानगरमा १४ हजार २१६ मत गणना हुँदा उम्मेदवार नभएको रुख चिह्नमा दुई हजार १३६ मत गएकाे छ।
उम्मेदवार भएको गोलाकारभित्रको हँसिया हथौडामा बाबुराज बज्राचार्यले बदर भएको मतभन्दा केही मात्र बढी ल्याएका छन्। उनले दुई हजार ५१७ मत ल्याएका छन्।
उपमेयरमा ललितपुरमा एमालेकी मञ्जली शाक्यले अग्रता कायम राखेकी छिन्। उनले चार हजार ४५ मत पाएकी छिन्। यस्तै तेस्रो स्थानमा राप्रपाकी स्वर्निमा शाक्य छिन्। उनले एक हजार ३४५ मत ल्याएकी छिन्।
मेयरमा भने सुरुदेखि नै कांग्रेसका चिरिबाबु महर्जन अग्रस्थानमा छन्। उनले सात हजार ९२० मत ल्याएका छन्। एमालेका हरिकृष्ण व्यञ्जनकार तीन हजार ४७६ मतसहित पछ्याउँदै छन्।
राप्रपाकी अस्ठा महर्जनले ७५२ मत ल्याएकी छिन्।
जेठ ३, २०७९ मंगलबार १४:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।